हिमालयन ऊर्जाको शतप्रतिशत हकप्रद बिक्री भएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन ऊर्जाको शतप्रतिशत हकप्रद बिक्री भएन



काठमाडाैं । हिमालयन ऊर्जा विकास कम्पनीले बिक्री गरेको शतप्रतिशत हकप्रद शेयरमा १४ लाख ४६ हजार ३५९ कित्ता शेयर बिक्री हुन नसकेको बताएको छ ।

कम्पनीले बुधबार हकप्रद शेयर बाँडफाँटको सूचनामा जारी गर्दै ९९ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ता मात्र वितरण भएको उल्लेख छ ।

कम्पनीले असार १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ १२ गतेसम्म बिक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३१ हजार ५८३ जना शेयरधनीहरूमा भदौ २५ गते हकप्रद शेयर बाँडफाँट गरिएको छ। हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम भदौ २८ गतेदेखि आवेदकहरूको बैंक खातामै फिर्ता भुक्तानी गरिने जानकारी समेत सूचनामा उल्लेख छ ।

कम्पनीले पहिलो चरणमा बिक्री गर्न नसकेको १४ लाख ४६ हजारभन्दा बढी कित्ता शेयर भने लिलामी प्रक्रियाबाट बिक्री गर्नेछ । सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ ।

कम्पनीले रामेछाप जिल्लामा ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजनाबाट विद्युत् बिक्री आम्दानी गर्दै आएको छ । हकप्रद शेयर निष्कासनबाट संकलित पूँजी कम्पनीले विभिन्न बैंकबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने बताएको छ ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार १२:४४