एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो ।

बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गते गतेसम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा १ अर्ब २० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा २२ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ७ करोड ५० लाख रुपैयाँ गरी कुल १ अर्ब ५० करोड लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी असोज २६ गतेभित्र ब्याजदर सम्बन्धि प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्नेछ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलवार १५:०५