सबल बन्दै मुलुकको अर्थतन्त्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सबल बन्दै मुलुकको अर्थतन्त्र



काठमाडौं । मुलुकको आर्थिक अवस्था सबल बन्दै गएको छ । देशको आर्थिक अवस्थाको संकेत गर्ने विदेशी मुद्रा सञ्चिति अघिल्लो वर्ष भन्दा गत वर्ष ३२.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा रु.११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु. १३४५ अर्ब ७८ करोड
रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई रु.१८४८ अर्ब ५५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई रु.१९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ ।

समीक्षा वर्षमा पूँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई रु.५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब १७ करोड रहेको थियो ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार १५:१८