नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत, खाद्य कम्पनीको महाप्रवन्धकको जिम्मेवारी रमेश आचार्यलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत, खाद्य कम्पनीको महाप्रवन्धकको जिम्मेवारी रमेश आचार्यलाई



काठमाडाैं । सरकारले दुई महत्वपूर्ण संस्थाको नेतृत्वमा दुई जनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ । त्यसैगरी, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन्। प्रवक्ता गुरूङले एशियाली विकास बैंकबाट सिंचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात् नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्न वार्ता टोली बनाएको बताए।

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए।सञ्चारमन्त्री गुरूङले भुटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एसियाको १२ औं सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए।

सरकारले भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड ञ बमोजिम संयीयता भू-उपयोग परिषद्को सदस्यमा चितवनका रेवती रमण पौडेल, यमुना घले र काठमाडौंका रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरिएको उनले बताए।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार १८:२९