गिरिबन्धुमा संलग्नलाई कारबाही हुनुपर्छः गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गिरिबन्धुमा संलग्नलाई कारबाही हुनुपर्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले गिरिबन्धुमा संलग्नलाई कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले गिरीबन्धु टी-स्टेट, नक्कली भुटानी शरणार्थी काण्ड, बिजुली बक्यौता र सहकारी ठगीबारे अनुसन्धान गरेर कारबाही हुनुपर्ने धारणा राखे ।

‘सरकार फेरियो कुरा फेरिन्छ ? फेरिन्न । यो सदनमा हामी पनि छौं । हामी सत्ता पक्ष र प्रतिपक्षमा बस्दा फरक कुरा गर्दैनौं, सत्तामा बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रंक लाइन देख्दै नदेख्ने, बसेर सहकारी मजाले ठग्ने ? प्रतिपक्षमा बसेपछि सबै देख्ने होइन,’ उनले भने, ‘हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो।

गिरीबन्धु, भुटानी, डेडिकेटेड ट्रंक लाइन र सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नैपर्छ ।’ यस्तै, उनले बिजुलीको बक्यौता एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन् । सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाऊ भनेर कसैले भन्छ ? नउठाउन पाइन्छ ? एक रुपैयाँ पनि छोड्न पाइन्न । एक सुका पनि छोड्न पाइन्न, अरबको कुरा होइन ।’

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार १६:२८