हेर्दा सामान्य लाग्छन खेमबहादुर पाठक । अग्लो कद, खिरिलो ज्यान र मिजासिलो स्वाभावका खेमको इतिहास चानचुने छैन् । गाउँमा बसेर गाउँलेका जीवनस्तर उकास्ने काममा उनको पृथक परिचय छ । असाधारण लाग्ने उनको लोभलाग्दो कर्मले हजारौं न्यून आय भएका नागरिकहरुको जीवन सुनौलो भएको छ । साना किसान र कृषि सहकारी संस्था स्थापना गरेर गरिब, निमुख, बेरोजगार र मेहनती किसानहरुको जीवनमा आमूल परिवर्तन ल्याउनमा खेमको भूमिका गर्व गर्न लायक छ ।
देशैभर विस्तार भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्तको नेतृत्वमा बसेर उनले ग्रामीण स्तरमा रहेका नागरिकहरुको दुःख पीडामा साक्षात्कार गरिरहेका छन् । धादिङको चैनपुर गाविसमा १८ बर्षको उमेरमै देशकै कान्छो प्रधानपन्च भएर कार्य अनुभव लिइसकेका उनी दुई पटक गाविस अध्यक्ष भएर काम गरिसकेका छन् । अढाइ दशक सहकारी अभियन्ता बनेर काम गरेका उनीसँग सहकारी आन्दोलनकर्मीहरुका लागि उपयोगी अनुभवहरु छन् ।
संघर्षको कहानी
सहकारी ऐन २०४८ आएपछि साना किसान विकास आयोजनाहरुलाई सहकारीमा परिणत गर्ने नीति बन्यो त्यसबेलादेखि नै सहकारीमा प्रवेश गरेको हुँ । साथै म साना किसान कृषि सहकारी संस्था बनाउन २०४९ देखि मुल समितिमा बसेर २०५१ सालमा दर्ता गरी साना किसान कृषि सहकारी संस्था चैनपुरको अध्यक्ष भएर काम गरें । मेरो तीन कार्यकाल उक्त सहकारीमा वित्यो र पछि निकै नाम चलेको चलेको संस्थाको रुपमा चिनिन थाल्यो । त्यसलाई कृषि विकास बैंकले पनि सहयोग गरेको थियो । त्यसलाई नेपालभरीको उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत पनि गरिएको थियो ।
त्यसपछि जिल्लामा साना किसान कृषि सहकारी संघ भनेर गठन भएको थियो । त्यसबेला संघ दर्ता गर्न नदिएपछि पाँच बर्षसम्म मुद्दा लडेर संघ दर्ता गरेका हौं । संघ दर्ता गर्दा चैनपुरको संस्था छाडेर साथीहरुलाई वैकल्पिक नेतृत्वको रुपमा अध्यक्ष बनाएर जिल्लाको कृषि संघमा बसेर काम गरें । संघ त्यतिबेला घाटामा थियो । २०५३ सालमा गठन भएको साना किसान कृषि सहकारी संघ बन्द गर्ने स्थिती थियो । त्यसलाई पुनःगठन गरेर मलाई अध्यक्ष बनाइयो । त्यहाँ मैंले तीन कार्यकाल अर्थात नौं बर्ष काम गरें । त्यस समयसम्म संघलाई मैंले १४ लाख नाफामा पुर्याउन भूमिका खेलें । १५ जनाजति कर्मचारी राखेर नेपालको उत्कृष्ट संघ बनाउन भूमिका निर्वाह गरें । राष्ट्रिय सहकारी संघले संघमध्येको सबैभन्दा राम्रो भनेर पुरस्कृत नै गर्यो ।
त्यसपछि कार्यकाल सकेर अर्को क जना साथीलाई अध्यक्ष बनाएर म केन्द्रतिर आएँ । २०६४ मा नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्ष भए । तर त्यो संघ दर्ता गर्न दिइएको थिएन । समिति मात्रै बनेर बसेको थियो । त्यसपछि दुईजना साथीको नेतृत्वमा समिति गठन गरियो । तर तीन बर्षसम्म बैठक समेत बस्न सकेन । संघ संचालनमै आएन । पछि अर्को भेलामार्फत नयाँ प्रक्रिया अघि बढ्यो । भेलामा संघको तदर्थ समितिको अध्यक्ष मलाइ बनाइयो । उक्त समय संघमा केही थिएन् । लेटरप्याड छाप, माइन्युटहरु आफैले व्यक्तिगत पैसाले किनेर सुरुवात गरेको हो । सुरुवात गरेर दर्ता गराउन आउँदा विभागमा दर्ता गराउन निकै कठिनाइ व्यहोर्नुपर्यो । जस्तो हामीले साना किसान कृषि संघ छुट्टै बनाउने भनेका थियौ । तर कतिपयले मिल्दैन भन्नुभयो । नाम के राख्ने भन्ने बारेमै तीन बर्षसम्म विवाद भयो । अन्त्यमा विभागको रजिष्ट्रार टंकमणि शर्मा र हामी बसेर नेपाल कृषि सहकारी केन्द्रीय संघ राख्ने निर्णय गर्यौं । त्यसपछि दर्ता प्रक्रिया अगाडी बढ्यो ।
२०६४ सालमा संघ दर्ता भएर म संस्थापक अध्यक्षको रुपमा रहे । संघ सुरु गर्दा शुन्यबाट सुरु गरेका हौं । हामीसंग लेटरप्याड, छाप पनि काम चलाउजस्तो बनाएर सुरु गरियो । विस्तारै काम गर्दै गयौं । पैसा दिएर कर्मचारी राख्न सक्ने स्थिति थिएन् । तलब नदिनेगरी तीन बर्षसम्म पूराना कर्मचारीको सहयोगमा काम गरियो । त्यसपछि विस्तारै १५ सय र पाँच हजार तलबमा दुईचार जना कर्मचारी राखेर अगाडि बढायौं । खर्च धान्न नसकेर, कहि स्रोत नपाएर एचआइभीको तालीम चलाएर त्यसबाट आएको पैसाले घरभाडा र कर्मचारीलाई तलब दिएर संघ चलाउँदै गयौं । त्यसबेला हामीलाई कान्छो संघ भन्ने गरिन्थ्यो । हाल यो संघमा ४५ जना कर्मचारी छन् । आफ्नै संघको दुईवटा गाडी छन् । चितवनमा आफ्नै चार विगाह जमिनमा तालिम सेन्टर संचालन गरेका छौं । ६ वटा भवन छन् । संघमा काम गर्ने कर्मचारीको संख्या बढाएका छौं । सानेपामा आफ्नै घरगाडी जोड्यौ ।
किसानहरुको सामान ओसारेर विक्री वितरण गर्ने र अर्को अफिसका सिनियरहरुलाई यातायातमा सहज भएको छ । हामीले कर्मचारीहरुलाई भौतिक सामानहरु दिएका छौं । ल्यापटपदेखि अफिसमा चाहिने सबै सामान उपलब्ध गराएका छौं । त्यस्तै हामीले किसान, सहकारीका सदस्यहरुलाई पढाउन तालिम केन्द्र चाहिन्छ भनेर चितवनमा चार विगाह जमिनमा ६ वटा भवनमार्फत तालिममा आएका किसालाई बोटविरुवाको बेर्ना दिन ग्रीन हाउस बनाएर नर्सरी सुरुवात गरिसकेका छौं । अहिले हामी ७७ वटै जिल्लामा पुगेका छौं । १३ लाख भन्दा बढी सदस्यहरु छन्न् । एक खर्ब चार अर्व रुपैंयाँ बराबरको रकम किसानबीच पुँजी पुगेको छ । संघले नाफामा पनि कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसरी म संस्थापक अध्यक्ष भएर आएपछि गरेको प्रगति हेर्दा अन्तर्राष्ट्रिय जगतमा पनि पुरस्कृत भएको छ । संसारभरीका संस्थाहरुसँग प्रतिस्पर्धा गराएर हामी प्रथम भयौ । लेवनान दोस्रो भयो । संसारमा हामी युएनबाट प्रथम भएको रेकर्ड नेपालले त्यो अवसर प्राप्त गरेको हो ।
यस्तै अरु संस्थाहरुसँग पनि हामी पार्टनरसिपमा बसेर काम गरिरहेका छौं । पार्टनरसिपमा काम गर्दा राम्रो पार्टनरको रुपमा अवार्ड दिने काम गरेका छन् । यतिबेला हामीले यो उपलब्धिबाट हेर्दा विभिन्न उद्योगहरु संचालन गरेका छौं । झापाको पृथ्वीनगरका ठूलो उद्योग नाफामै चलिरहेको छ । इलाममा तीन चारवटा उद्योगहरु संचालन गरेका छौं । दुधको प्रशोधन केन्द्रहरु, १२ वटा धान प्रशोधन उद्योगहरु छन् । ६ वटा जति तोरी मिल संचालनमा छन् । ६ वटा जति विउ प्रशोधन उद्योगहरु छन् । नेपालकै नमूना सहकारी खेतीको रुपमा चक्लाबन्दी खेती सुरु गरेका छौं । सातै प्रदेशमा उक्त खेती सुरु गर्ने भनेर संस्थाका मानिसलाई लगेर सिकाउने–बुझाउने गरिरहेका छौं । उद्योगमा जानुपर्छ र सदस्यलाई उद्यमी बनाउनुपर्र्छ भनेर एडिबीसँग साना किसान विकास बैंकमार्फत ६ अर्ब पैसा लिएर विदेश पलाएन भइरहेका युवाहरुलाई रोक्न पाँच लाखदेखि ५० लाखसम्म उद्यमी कर्जा लगानी गर्ने काम गरिरहेका छौं । विभिन्न बाख्रा, भैसी फर्म चलाउने, तरकारी खेती संचालन गर्ने, माछा फार्म, कुखुरा फार्म संचालन गर्नेलगायत विभिन्न सदस्यहरुलाई उद्यमी बनाएर नमुनाको रुपमा कार्यक्रमहरु गर्दै आएका छौं । यो कार्यक्रममार्फत ३१ सय मानिसले कृषीको टेक्नोलोजीहरु सिकेर आएका छन् । जसबाट १५ लाखसम्म पैसा ल्याएर राम्रा प्रोजेक्टहरु संचालन गरेका छन् ।
गुनासा पनि सफलता पनि
इजरायलबाट आउने चन्द्र बस्नेत भन्ने एकजना मेहेनती व्यक्ति हुनुहुन्छ । उहाँले केरा खेती फर्म खोल्नुभएको छ । जुन नेपालको उत्कृट फर्मको रुपमा चिनाउनुभएको छ । अन्य युवाहरु पनी त्यसमा आवद्ध भएर लाग्नुभएको छ । भारत लगेर ४५ उद्यमीहरुलाई सात दिनको तालीम गराएर ल्याएका छौं । तालीम लिएकाहरुले राम्रो व्यवसाय गर्नेछन् । उनीहरुलाई पुँजी पनि दिएका छौं । प्रविधि पनि सिकाएका छौं । विस्तारै बजारको काम गर्ने कोसिस गरिरहेका छौं । तर बजारमा हामीलाई समस्याहरु प्रशस्त छन् । बजारमा हामी छिर्न पाउँदैनौं । किसानहरुको कुनै पहुँच छैन् । सरकारले हामीलाई छुट्टै जग्गा दिन आनाकानी गर्छ । हामी बजार बनाउँछौं । आफैं लगानी गरेर किसानलाई सुविधा दिन्छौ भनेका छौं त्यो व्यवस्था भएको छैन् ।
नेपालमा सरकारले बनाएको १९ वटा मण्डीहरु छन् तर त्यो व्यापारीको कब्जामा छ । त्यसमा सहकारी छिर्न पाएको अवस्था छैन् । सहकारी र नीजिलाई प्रतिस्पर्धा गनुपर्यो भन्दा सरकारले त्यसको आँट पनि गर्न सकेको छैन । बजारमा व्यापारीहरु मनलाग्दी गरिरहेका छन् । सरकार टुलुटुलु हेरिरहेको छ । उपभोक्ताले जति महंगी भएपनि किनेर खानुपरेको छ । किसानले भाउ पाएकै छैनन् । बाहिरबाट आएको सामानको विक्री वितरण हुनलाई अवसर प्राप्त भएको छ । तर आफ्नै बारीमा उत्पादन भएका बस्तुहरु कुहिएर गएको छ । दुध सडकमा फाल्नुपर्ने अवस्था आएको छ । त्यसैले हामी उत्पादन भएन भनेर गुनासो गर्ने गर्छौ । तर अहिले उत्पादनको समस्या होइन, बजारको समस्या हो । बजार ग्यारेन्टी गरिदिने हो भने किसानले नेपालकै उत्पादन बस्तुले खान पुग्ने उत्पादन गर्न सक्छन् ।
सरकासंग लभिङ गरेर पशुपालनलाई सुलभ दरमा रकम माग्यौं । सरकारले उपलब्ध पनि गरायो । सरकारले १३ बर्ष अगाडि पैसा दिंदा १३ अर्वको मासु बाहिरबाट ल्याउनुपर्छ, रोक्न सक्छौं भनेर प्रश्नगर्दा सक्छौं भनियो र सुलभ कर्जा लगानी गर्यौं । अहिले व्यापक रुपमा खसी बोका, बंगुर निस्केका छन् । आफैं मासु उत्पादनमा आत्मनिर्भर बनेको अवस्था छ । तर आज किसानले त्यो खसीबोका विक्री गर्ने बजार छैन् । किसानलाई दुधमा लगानी गरायौं, दुधमा आत्मनिर्भर बन्न लागेका थियौं । तर अहिले उत्पादन अनुसारको दुध विक्री गर्न नपाएर रकम नेपाल डेरी र डीडीसी उधारो लगेर तिरेको छैन् । हाम्रो दुध उठाउ भन्दा पनि लैजादैनन् । किसानले दुध विक्री आएर संस्थामा घेर्छ । संस्थाले लगेर विक्री गर्ने ठाउँ छैन् ।
यसरी हेर्दा जता गएपनि किसानहरु मारमा परेको अवस्था छ । यो समस्यालाई समाधान गर्न हामी प्रविधितिर लागेका छौं । सरकारले प्राविधिहरु पनि व्यवस्थापन गर्न सकिरहेको छैन् । आफैं विभिन्न देशबाट प्राविधिकहरु बोलाएर दुधबाट विभिन्न परिकार बनाउनुपर्छ भनेर लागिरहेका छौं । यस्ता विभिन्न कार्यक्रमहरु सरकारले ल्याएपनि समय गुजारेर ल्याउँछ । धानको समर्थन मूल्य तोक्यो तर व्यापारीले किनेर भ्याइसकेपछि सरकारले किन्न मंसिरबाट सुरु गर्छ । यसरी सरकारको ढिलासुस्तीले गर्दा पनि किसानहरुलाई वास्तवमै असर पारेको छ ।
म सहकारीमा मात्रै होइन लघुवित्तमा पनि आवद्ध छु । लघुवित्तलाई पनि सहकारी संस्थालाई जस्तै धेरै मिहेनत गर्नुपरेको थियो । यसलाई पनि मैंले पुरस्कृत हुने गरी काम गरे । संस्था पुरस्कृत हुनुपर्छ भन्ने मान्यताले नै आजसम्म म काम गर्दै हिडेको छु । मैंले स्थानीय तहमा काम गर्दा समेत काम गरेबापत पुरस्कृत भएको थिए । यतिमात्र होइन अन्य धेरै ठाउँमा मैंले मनैदेखि काम गरेर उत्कृष्टता हासिल गरे । त्यसैले मेरो विचारमा हामीले सामान्य काम किन नहोस राम्रोसँग गरेर जनतासमक्ष पु¥याएर सेवा दिन सकियो भने नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरका अवार्ड लिन सक्छौं ।
हामी लयमा छौं
अन्तर्राष्ट्रिय रुपबाट परेको मन्दीमा असर सहकारी क्षेत्र र किसानहरुमा धेरै परेको छ । नेपालमै उत्पन्न भएका समस्याले पनि असर पारेको छ । तर अरुको जस्तो बचत फिर्ता गर्ने, सेयर फिर्ता गर्ने, ऋण तिर्न नसकेर संस्था डुब्नेजस्ता समस्या सामान्य मात्र ठानियो । सबै समस्या समाधान हुँदै आएका छन् । अहिलेपनि सहकारीहरुमा धेरै समस्या आएका छन् । तर हामीमा त्यस्तो समस्या छैन् । सदस्य बढीरहेका छन् । पुँजी बढीरहेको छ । वित्तिय विवरण त्यति विग्रेको छैन् । हामीले कुन संस्था बढी प्रभावित भएको छ । कुन अलि कम छ भनेर वर्गीकरण गर्छौं । जब समस्या बढ्यो भन्ने सुनिन्छ । किन यस्तो भयो भनेर सहि बाटोमा ल्याउन हामी लागिरहेका छौं । यही कुरो सिंगो सहकारीमा जानुपर्छ भनेर मैले भनिरहेको पनि छु ।
मैदानको समस्या छाडेर सरकारसँग मात्र लडाइ गर्ने भन्दापनि संस्था मेरो हो भन्ने भावना विकास गर्न त्यहि तल नै जानुपर्छ । मैदानमै जानुपर्छ । सदस्यले मेरो हो भन्ने भएपछि संचालक खराब भएपनि, कर्मचारी नराम्रो भएपनि सदस्यले हटाउँछ र त्यसको स्वामित्व सदस्यले लिन्छ । त्यसैले अहिले कुनुकुन संस्थामा समस्या आएको छ त्यसको रेकर्ड बनाएर अगाडि बढिरहेको छौं ।
गाउँमा छौं तर नीतिगत समस्या झेल्दैछौं
हामी सहरमा छैनौं, हाम्रा संस्था सहरबाहिर ग्रामीण, दुर्गम ठाउँमा छन् । दुर्गम ठाउँपनि यस्तो छ कि त्यहा कोही आर्थिक रुपले गरीब र दिमागी गरिब जसको चेतनास्तर नै कमजोर छ । त्यस्ता व्यक्तिहरुमाझ हाम्रो कार्यक्रम केन्द्रीत भएर गएको छ । आठ जनाको टीम कर्णालीमा बसेको छ । जसले कर्णालीका आठ जिल्लाको नेतृत्व लिएर बसेका छन् । कर्णालीमा गरिखाने संस्था बनाउनुपर्छ भनेर लागेका संस्थाहरुसँग सहकार्य गरिरहेका छौं ।
कृषि कार्यालयले बनाएको समूह सहकारीमा परिणत भएका, महिला विकासले बनाएका, गाउँपालिका र एनजिओले बनाएका, अलपत्र परेका संस्थालाई प्रमोशन गर्ने काम गर्दै एक सयवटा संस्था बैंक लेबलको बनाउने र कर्जा दिने खालको बनाउन काम गरिरहेका छौं । गुणस्तरयुक्त सेवा दिन सक्ने संस्था बनाउने अभियानमा लागेका छौं । कृषि विकास बैंकसँगको पार्टनरसिपमा मिलेर काम गर्दैछौं । कर्णालीमा सहकारी संस्था बनाउनुपर्छ भनेर केन्द्रीत भएर लाग्ने कोही छैनन् । सहरमा बनिहाले हो तर गाउँ बस्तीसम्म पुगेर मानिस जोडेर संस्था बनाउन कोही लागेका छैनन् ।
अहिले समय अलि फरक छ । समस्या पनि फरक छन् । तीनवटा सरकारको तीनवटा कुरा आउँछ । तर पनि हामीले सबैलाई बुझाएर कम्पनी दर्ता गर्नेदेखि अनुगमन निरीक्षण गर्ने कुरामा सहजीकरण गरिहेका छौं । स्थानीय तहले गाउँमा बाटो बनाउनुलाई मात्र विकास ठान्छ तर संस्थालाई बलियो बनायो भने धेरै कुरामा पालिकालाई सहयोग पुग्छ भन्नेतिर ध्यान दिएको छैन् । यी सबै कुरा विस्तारै बुझाउनुपर्ने छ । यो महशुस विस्तारै गराउँदै गएका छौं । त्यसैले कतिपय कुरामा समस्या पनि छ भने सहयोग पनि पुगेको छ ।
सुदुरपश्चिममा पनि कैलाली कञ्चनपुरका पुरै पालिकामा हाम्रै कार्यक्रमले ढाकेको छ । त्यसभन्दा माथि पहाडहरुमा विस्तारै पुग्ने प्रयासमा छौं । हरेक पालिकामा हाम्रो सेवा पु¥याउने भनेर लागेका छौं । सरकारले पनि ७५३ पालिकामा पुग्नुपर्छ भनेर निर्देश गरेको छ । हामी अहिले ५६६ पालिकामा पुगेका छौं बाँकीमा पुग्नेगरी नीति तथा कार्यक्रममा पनि आएको छ । हामीले केही क्षेत्रमा राउटेहरुलाई पनि आवद्ध गराएका छौं । तराइमा मुसहरलाई आवद्ध गराएका छौं । विभिन्न जातिको मानिस हाम्रो कार्यक्रमा जोडिएका छन् । सहयोगी निकाय र सरकार नपुगेको ठाउँमा हामी पुगेका छौं ।
त्यसैगरी गरिबका लागि भनेर पाँचवटा जति शीर्षकमा पैस पु¥याउने गरेका छौं । सरकारसँग लविङ गरेर पशुपालन कर्जा नौं प्रतिशतमा गरिब किसानसमक्ष पु¥याएका छौं । त्यसैगरी तरकारी कर्जा, दुध उत्पादन कर्जा ग्रामीण स्वावलम्वन कर्जा भनेर पिछडिएका महिलाहरूको साना उद्यम, व्यबसाय गर्नका लागि उपलब्ध गराएका छौं । जुन १० प्रतिशतमा दिने भनेपनि, समयमा किस्ता तिरेभने चार प्रतिशतमा उनीहरुमाझ पैसा पु¥याउने काम गरेका छौं । यतिमात्र नभएर उद्यमी कर्जा भनेर पाँचदेखि ५० लाखसम्म नौं प्रतिशतसम्म वितरण गरेका छौं । त्यस्तै वागमती प्रदेशमा जम्मा तीन प्रतिशत ब्याजमा किसानको हातमा पैसा पु¥याउने काम गरेका छौं ।
हामीसँग पाट्नरसिप भएर दिइएको पुँजी छ, त्यो पुँजी सातै प्रदेशमा हुनुपर्छ भनेर हामीले कार्यक्रम बनाएर पेश गरेका छौं । स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं । प्रविधिका कुरामा, मल विउका बिषयमा लविङ गरेर सहयोग गरिरहेका छौं । तर दुःखको कुरा चाहीं के हो भने किसानले उत्पादन गरेका सामग्रीहरु बजारमा पु¥याउने कुरामा एकदमै अप्ठेरो परेको अबस्था छ । हाम्रो जम्मा सदस्यमा महिलामात्रै ८० प्रतिशत आवद्ध छन् ।
यस्तो अवस्थामा पहिलो नम्बरमा सरकारले बजारको ग्यारेन्टी गर्नुपर्छ । किसानले उत्पादन गरेको बस्तु बजारमा सहजै बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्छ । त्यस्तै प्रबिधिमा सहयोग गर्नुपर्छ । किसानको उत्पादन बस्तु समयमा बिक्री भएन भने समस्या हुन्छ । यसका लागि दुधको चिस्यान केन्द्र बनाइ दिने, अन्य चिजको भण्डारण गर्ने व्यवस्था मिलाउनपर्छ । कसैले उद्योग निर्माण गर्छ भने ५० प्रतिशत सरकारको पाट्नरसिप हुनुपर्छ । सरकार र जनता मिलेर गरियो भने सरकारले सहयोग गर्छ र जनताले माया गर्छन ।
Comment