वैदेशिक रोजगार बीमालेख मार्फत एक बर्षमा उठ्याे तीन अर्ब १२ करोड बढी बीमा शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगार बीमालेख मार्फत एक बर्षमा उठ्याे तीन अर्ब १२ करोड बढी बीमा शुल्क



काठमाडौं। जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेखबाट ३ अर्ब रुपैयाँ भन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले समीक्षा वर्षमा वैदेशिक रोजगार बीमालेखबाट ३ अर्ब १२ करोड ६८ लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यस अवधिमा बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख ६९ हजार ४२ रहेको छ। त्यसैगरी असारमा मात्रै ५९ हजार १७७ वटा बीमालेख मार्फत २४ करोड ९० लाख ९४ हजार रुपैंया वैदेशिक रोजगार बीमाशुल्क संकलन भएको छ ।

समीक्षा वर्षसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्रीबाट ८४ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो १२ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ६२ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट ३५ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी असार मसान्तसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले ३० करोड ३१ लाख रुपैयाँ, नेसनल लाइफले २७ करोड १ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २० करोड ५६ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

साथै, सिटिजन लाइफले १० करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १८ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : २४ श्रावण २०८१, बिहीबार १३:२०