काठमाडौं । अब व्यवसाय गर्नका २ प्रतिशत प्रिमियममै २ करोड रुपैयाँसम्मको ऋण पाइने भएको छ । खाद्यन्न उत्पादनदेखि सूचना प्रविधि, पर्यटन लगायतको व्यवसायमा प्रवाह हुने २ करोडसम्मको कर्जामा २ प्रतिशत मात्रै प्रिमियम जोडिने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक सर्कुलरले यस्तो व्यवस्था गरेको हो । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न सो सर्कुलर जारी गरेको छ ।
कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटन लगायत आन्तरिक उत्पादनसँग सम्वन्धित उद्यम व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरि ऋणको ब्याज तोक्नुपर्ने छ ।
सर्कुलरमा भनिएको छ,‘२ करोड सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि (आयात सम्बन्धी व्यवसाय बाहेक) कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ ।’
२० लाख सम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् । कार्यान्वयनमा आएको छ । तर, प्रत्येक शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुननसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ ।
Comment