वस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर बराबरकाे सटही सुविधा, अन्य कुन-कुन सीमामा भयो परिवर्तन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर बराबरकाे सटही सुविधा, अन्य कुन-कुन सीमामा भयो परिवर्तन ?



काठमाडौं । राष्ट्र बैंकले ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा बढाएको छ । शुक्रबार मौद्रिक नीतिमार्फत् बैंकले यस्तो सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गर्ने भएको हो ।

यता डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्सको माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम हुने भएको छ ।

यसैगरी नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिने भएको छ । विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पनि पुनरावलोकन गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकले सेवा आयातवापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने विद्यमान सटही सीमालाई वार्षिक र क्षेत्रगत रुपमा तोकी यससम्बन्धी व्यवस्थालाई सहजीकरण गरिदिने भएको छ ।

त्यसैगरी, नेपाल सरकारका निकायलाई सार्वजनिक खरिद कानुन बमोजिम गरिएको खरिदको भुक्तानीको लागि आवश्यक पर्ने सटही सुविधामा ड्राफ्ट/टीटीको सीमा लागु नहुने एवम् एकभन्दा बढी भुक्तानीको माध्यम प्रयोग गर्न सक्ने गरी सहजीकरण गर्ने भएको छ ।

यता बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गरिने । साथै, चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने पनि जनाएको छ ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार १३:५३