क्यान महासंघको आयोजनामा साउन ११ देखि ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

क्यान महासंघको आयोजनामा साउन ११ देखि ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने



काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० को आयोजनामा यहि साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ । राजधानीको एभरेस्ट होटलमा हुने दोस्रो संस्करणको उद्घाटन समारोह सञ्चार तथा सूचना प्रविधि माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङबाट हुनेछ ।

बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य” रहेको छ । यस बीटूबी समिटमा व्यापारको भविष्य बारे किनोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सको साथै नेपालका लागी विभिन्न कम्पनीका आधिकारिक डिलर र रि सेलरहरु बिच आफ्नो व्यापार प्रवर्धनको अवसर हुनेछ ।

यसले आयातकर्ता र विक्रेता बिचको ग्याप लाई घटाउने काम गर्दछ । बिटुबी मार्फत देश भरिको डिलरहरु र व्यावसायीहरु लाई जोडिने काम हुन्छ । समिटमा व्यावसायीहरु, कर्पोरेट हाउस, प्रोफेसनलको अभुतपुर्व जमघट साथै नवीनतम प्रबिधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । यस संस्करणको सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने अध्यक्ष पोदारको भनाइ छ ।

कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेक लगायत क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । यस समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । समिटमा क्यान महासंघका ७४ जिल्ला र प्रादेशिक शाखाका प्रतिनिधिहरूलाई अन्य व्यावसायिक संस्था र व्यक्तिहरूसँग परिचित हुने अवसर मिल्ने उनले जनाए ।

उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीहरूका लागि आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्रहरू र बजारहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।

सन् १९९२ मा स्थापना भएको क्यान महासंघले नेपाल सरकारको आईसीटी योजना र नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । ३२ वर्षको इतिहासमा महासंघले नेपालका सबै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ भने देशको संघीय प्रणालीअनुसार सातवटै प्रदेशमा प्रादेशिक समितिहरू पनि स्थापना गरिएको छ ।

प्रकाशित : १० श्रावण २०८१, बिहीबार ११:३५