काठमाडौं । विद्युत् प्राधिकरणलाई ठाडै ३३ करोड रुपैयाँ घाटा हुने गरी कुलेखानी तेस्रोका भारतीय परामर्शदाता वापकोसले चौथोपटक पुन: ११ महिनाको म्याद थप गर्न सिफारिस गरेको छ।
अन्नपूर्ण पोष्टमा विकास थापा लेख्छन्- कुलेखानी तेस्रो एक वर्ष ढिला हुँदा उसले उत्पादन गर्ने बिजुलीको मात्र ३३ करोड ३७ लाख रुपैयाँ घाटा पर्छ। यसअघि यसको तीनपटकसम्म म्याद थप भइसकेको छ।
मुलुकको ध्यान भूकम्प, संविधान लेखन विवाद र सरकार परिवर्तनमा मोडिएका बेला ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीबाट हरियो संकेत पाएका कारण परामर्शदाता वापकोसले म्याद थपको सिफारिस गरेको प्राधिकरण स्रोतले बतायो।
आयोजना कामु प्रमुख सञ्जीवबहादुर मल्लले आगामी अप्रिल २०१६ सम्मका लागि म्याद थपको सिफारिस परामर्शदाताले गरेको र त्यसलाई पारित गराउन बोर्डसमक्ष पेस गरिएको पुष्टि गरे। ‘हामीले बोर्डमा पठाएका छौं, गर्ने-नगर्ने उसैले गर्छ’, मल्लले बुधबार अन्नपूर्णसँग भने।
प्राधिकरणलाई ३३ करोड रुपैयाँ घाटा
२०६४ चैतदेखि काम सुरु भएको १४ मेगावाटको कुलेखानी तेस्रो ४४ महिना (२०६८ मंसिर) मा पूरा हुने गरी सम्झौता भएको थियो। उक्त अवधिमा काम नसकिएपछि प्राधिकरणले पुन: ३० महिना म्याद थप गरेको थियो।
दोस्रोपटक थप गरिएको १७ महिनापछि काम गरिरहेको नेपाली परामर्शदाता नियाज अहमदको टोलीलाई हटाएर भारतीय वापकोसलाई ल्याइएको थियो। वापकोसलाई बाँकी काम (१५ प्रतिशत) का लागि नियुक्त गरिएको थियो।
वापकोसले कबोल गरेको १० महिनामा पनि काम पूरा नभई पुन: नौ महिना थपका लागि सिफारिस गरेको थियो। पछिल्लोपटक थप गरिएको नौ महिना यसै असार मसान्तमा पूरा हुँदैछ। आयोजना प्रमुख मल्लले ९० प्रतिशत काम पूरा भइसकेको जानकारी दिए। १० प्रतिशत काम बाँकी हुँदा ११ महिना थप गर्ने सिफारिस गरेको वापकोसले आयोजनाको बाँकी १५ प्रतिशत काम १० महिनामा सक्ने भनेर १० करोड रुपैयाँ दिइएको प्राधिकरणका एक अधिकारीले बताए।
उनका अनुसार वापकोस आएदेखि गर्नुपर्ने कामको परिमाण उही छ, तर ठेकेदार, परामर्शदाता र आयोजनाका कर्मचारीको मिलेमतोमा पुन: म्याद थपको प्रस्ताव गरिएको हो। ‘ठेकेदार र परामर्शदाताले काम नगरे पनि उनीहरूलाई कुनै कारबाही नगरेको उल्टै उनीहरूले भनेबमोजिम भुक्तानी गरिरहेका कारण म्याद थप गरेर भुक्तानी लिन पल्केका हुन्’, आयोजनाका एक इन्जिनियरले भने।
परामर्शदाताले सिफारिस गरेअनुसार म्याद थप गर्दा आयोजनाको लागत पाँच अर्ब रुपैयाँ कट्ने उनले बताए। सुरु लागत दुई अर्ब ४६ करोड अनुमान गरिएको कुलेखानी तेस्रोको हालसम्मकै खर्च दोब्बर भइसकेको छ। ‘आयोजना लागत र अवधि लम्बिएको छ, तर यसका प्रमुखले राम्रो काम गरेको भनी बढुवा हुन्छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘बढुवाका लागि ऊदेखि माथिका सबै हाकिमले पूरा नम्बर दिने गर्छन्।’
आयोजना प्रमुख मल्ल भने इलेक्ट्रो मेकानिकल र विद्युत् गृहको काम पूरा नभएकाले म्याद थप गर्नुपर्ने अवस्था रहेको बताउँछन्। अघिल्ला आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले काम गर्न नसकी राजीनामा दिएका थिए।
पटकपटक म्याद थप गरी आयोजना पूरा नगरेको र प्राधिकरणबाट बिनाकाम करोडौं रुपैयाँ असुलेकोबारे प्रतिक्रिया लिन खोज्दा वापकोसका नेपाल प्रमुख दिलीप सूत्रधार सम्पर्कमा आउन चाहेनन्। वापकोसले पाँच वर्ष काम नगरी राहुघाट जलविद्युत् आयोजना अलपत्र परेको छ। वापकोस नै नेपाल र भारत मिलेर बनाउन लागिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको पनि परामर्शदाता हो। वापकोस भारत सरकारको परामर्शदातृ कम्पनी हो।
Comment