पुष्प मेलाको तेस्रो दिन सम्म ५२ लाख बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुष्प मेलाको तेस्रो दिन सम्म ५२ लाख बढीको कारोबार



काठमाडौं, १९ चैत । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबार बाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तेस्रो दिन सम्म ५२ लाख बराबरको कारोबार भएको छ । एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार बराबरको कारोबार भएकोमा तेस्रोदिन अर्थात शनिबार मात्र २५ लाख ७१ हजार बढीको कारोबार भइसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

मेलाको उद्घाटन भएको दिन १२ हजार ५ सय, दोस्रो दिन १४ हजार ९ सय ५० र तेस्रो दिन १२ हजार ६ सय बढी अबलोकनकर्ता प्रदर्शनीमा अबलोकन गर्न आएका मेला संयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए । मेलाको अन्तिम दिन आइतबार सम्म ७५ लाख बढीको कारोबार हुने अनुमान फ्यानले गरेको छ । मेलामा एकै जना उपभोक्ताले ५० हजार रुपैयाँ बढीका फूल तथा बोटबिरुवा खरिद गरेको एस आर नर्सरीका संचालक तथा फ्यान कार्यसमिती सदस्य सुनिल स्याङतानले बताए । उनले १२ महिनै फूल्ने एजेलिया, सुन्तला, मुन्तला र अम्बाका बिरुवाहरु आफ्नो स्टलबाट बढी कारोबार भइरहेको बताए ।

आफूले ब्यापारका लागि नभएर प्रचार प्रशारलाइ लक्षित गरि स्टल सजावट गरेको बताउँदै अजिमा नर्सरीका संचालक कुमार कार्कीले आफ्नो स्टलमा फोटो खिच्नेहरुको घुँइचो लागिरहेको बताए । उनले हरेक बर्ष आफ्नो स्टललाई सर्बसाधारणले मन पराउने गरेको समेत बताए ।

यसैगरि शिष्टता नर्सरीका संचालक राजकृष्ण बजगाँइले सयपत्री, साइकलमेन, क्याल्सेरिया, कृष्णकली लगायतका अन्य बोट बिरुवाको कारोबार राम्रो भएको बताउँदै गएका बर्षहरुमा भन्दा राम्रो कारोबार भइरहेको बताए ।

गएका बर्षहरुमा जस्तै मेलाको अन्तिम दिन अबलोकनकर्ताको उल्लेख्य सहभागिता हुने र कारोबार पनि राम्रो हुने अनुमान फ्यानले गरेको छ । मेला आइतबार सम्पन्न हुँदै छ ।

प्रकाशित : १९ चैत्र २०७३, शनिबार १३:२५