उद्योग संगठन मोरङले शुरु गर्यो क्यूसेफ गुणस्तर प्रणाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

उद्योग संगठन मोरङले शुरु गर्यो क्यूसेफ गुणस्तर प्रणाली



काठमाडौं । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणिकरण मापदण्डहरुलाई आधार बनाएर स्थानीय उद्योग व्यवसाय सुहाउँदो क्यूसेफ गुणस्तर प्रणाली शुरु गरेको छ ।

उद्योग संगठन मोरङको ५१औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कोशी प्रदेशका मूख्यमन्त्री हिकमत कार्कीले क्यूसेफको लोगो अनावरण गर्दै शुभारम्भ गरेका हुन् ।

संगठनले क्यूसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित गर्न तथा प्राविधिकरुपमा यसलाई कार्यान्वयनमा ल्याउन राष्ट्रिय प्रमाणिकरण तथा व्यवस्थापन प्रालिसँग सहकार्य गरेको छ । सोही असवरमा संगठनका अध्यक्ष राकेश सुराना र नेशनल सर्टिफिकेसन एन्ड म्यानेजमेन्टका अध्यक्ष जर्नादन घिमिरेले उक्त प्रणाली कार्यान्वयनमा ल्याउन एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गुणस्तर मापदण्डका असल अभ्यासहरुलाई प्रवर्द्धन गर्न स्थानीय उद्योग व्यवसायको स्थानीय परिवेशमा असल उत्पादनको बेञ्चमार्क तयार गर्ने र सो अनुरुप पालनाका लागि क्षमता अभिवृद्धि गर्ने उद्देष्यले संगठनले क्यूसेफ गुणस्तर मापदण्ड प्रणालीको शुरुवात गरेको अध्यक्ष सुरानाले बताए । उनले क्यूसेफ एक स्वेच्छिक र स्वतन्त्र गुणस्तर प्रमाणिकरण प्रणालीको मानक भएको पनि बताएका छन् ।

संगठनको असल उत्पादनका अभ्यास प्रवर्द्धन समितिका संयोजक वीरेन्द्र राठीले यो प्रणालीले स्थानीय उद्योगले अपनाएको कार्यप्रणाली, सामाजिक, वातावरणीय, कामदारको कल्याण, स्वास्थ्य, सुरक्षा सम्वन्धी स्थापित मान्यताहरुका आधारमा स्वतन्त्र एवं प्रमाणित अडिटरहरुले अडिट गरेपश्चात प्रमाणिकरण गरि प्रमाण पत्र प्रदान गर्ने बताए ।

क्यूसेफ मापदण्ड आईएसओ ९००१, १४००१, ४५००१, २२००० र ह्यास्याप लगायतका ४ वटा छुट्टा छुट्टै गुणस्तर मानक मापदण्ड प्रणालीको आधार तयार गर्ने एउटा समग्र गुणस्तरको प्याकेज हो । क्यूसेफ प्रमाणिकरण भएका जुनसुकै उद्योग प्रतिष्ठानले उक्त चार वटा अन्तरराष्ट्रिय मापदण्ड आवेदन दिएर प्राप्त गर्न सक्छन् ।

सशुल्क व्यवसायिक विकासको सेवाका रुपमा संगठनले प्रारम्भ गरेको व्यवस्थापन मापदण्ड प्रणाली नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन लागिएको पहिलो मापदण्ड हो । संगठन सचिवालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने संगठनले बताएको छ ।

प्रकाशित : २० असार २०८१, बिहीबार १५:५५