ब्रेक सुमा लुकाएर ३० अर्ब ८२ करोडको सुन तस्करी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

ब्रेक सुमा लुकाएर ३० अर्ब ८२ करोडको सुन तस्करी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ब्रेक सु, स्मार्ट वाच, पानी तान्ने लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तीन हजार दुई सय केजी सुन अवैध रुपमा आयात भएको निष्कर्ष निकालेको छ ।

सीआईबीले सोमबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको छ । सम्भवः नेपालमा एउटै समूहले गरेको सबै भन्दा ठूलो आर्थिक अपराध यही हो ।

सुन तस्करीको अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३० अर्ब ८२ करोड बराबरको सुन तस्करी भएको निष्कर्ष निकालेको हो ।

ब्युरोले ब्रेक सुमा लुकाएर ३६२ किलो सुन र अन्य इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१ किलो सुन तस्करी गरेको खुलेको सार्वजनिक गरेको हो। तस्करी भएको दाबी गरिएको परिणामको बजार मूल्य ३० अर्ब ८२ करोड बराबर हुन्छ।

विमानस्थलबाट ब्रेक सु र भेप लगायतका अन्य उपकरणबाट भन्सार छलेर नेपाल भित्र्याउने प्रयास गरिएको सुन बरामद भएसँगै ब्युरोले निरन्तर अनुसन्धान गरेको थियो।

सुन तस्करीमा चिनिया नागरिकको संगठित जालो नै सक्रिय रहेको र उनीहरुलाई उच्च तहका नेताहरुले सहयोग गरेको यस अगाडि नै खुलेको थियो। सुन अनुसन्धानमा पूर्व सभामुख कृष्णबहादुर महरा, उनको छोरा राहुल महरा, पूर्व उपराष्ट्रपती नन्दकिशोर पुनका छोरा दीपेश पुन लगायतकाको संलग्नता देखिएको थियो।

राहुल पूर्पक्षका लागि थुनामा छन्। अनुसन्धानको दायरामा तानिएका कृष्णबहादुर महरा हाजिर जमानीमा छुटे पनि उनको मुद्दा अभियोजनको चरणमा प्रवेश गरेको छैन। दीपेशको संलग्नताबारे पनि अभियोजन भएको छैन।

सुन तस्करीबारे विस्तृत अनुसन्धान गर्न दुई पटक उच्चस्तरिय समिती र आयोग गठन भएर सरकारलाई प्रतिवेदन बुझाए पनि न प्रतिवेदन सार्वजनिक भएको छ न त संलग्न उच्चतहकाहरु नै पक्राउ परेका छन्।

प्रकाशित : १७ असार २०८१, सोमबार १६:२९