चार लघुवित्तको कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

चार लघुवित्तको कारोबार रोक्का



चार वटा अलग- अलग लघुवित्त कम्पनीले असार महिनाभित्र एकीकृत वित्तीय कारोबार गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुले एकीकृत वित्तीय कारोबारका लागि द्रुत गतिमा कार्यहरु भइरहेको बताएका छन् ।

मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाले आगामी असार २७ गतेदेखि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गर्दैछन् ।ती कम्पनीको हाल दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।

यी दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । यसैगरी,समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त आगामी असार २४ गतेबाट एकीकृत कारोबार गर्ने तयारीमा छन् ।

कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत वित्तीय कारोबार हुन लागेको हो ।ती दुबै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति दिएको थियो ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो । सम्झौताका बखत समता घरेलु लघुवित्तको चुक्तापूँजी ३९ करोड ४१ लाख छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्तापूँजी १४ करोड ८४ लाख रुपैयाँ छ ।

कम्पनीले असार २४ गतेदेखि दुबै कम्पनीको एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेसन कार्यको लागि असार २३ गतेका दिन दुबै कम्पनीका आ-आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै गरिने सम्पूर्ण बैकिङ्ग कारोबार भने बन्द रहने बताएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र मर्जर गरिसक्नुपर्ने हुन्छ । तर केहि अरु लघुवित्त कम्पनीको मर्जर सम्झौता भएर पनि एकीकृत कारोबार हुन सकेको छैन । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थालाई सोही वर्गको अर्को संस्थासँग मर्जर वा प्राप्तिका लागि प्रोत्साहन गर्न लघुवित्त संस्थालाई थप सहुलियतसम्बन्धी व्यवस्था गरिएको थियो ।

तीव्ररुपमा मर्जर तथा प्राप्तितर्फ आकर्षित लघुवित्त संस्थाहरु पछिल्लो समय भने सेलाएका छन् । मौद्रिक नीतिमा राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्तहरुलाई सोच अनुरुपको नीतिगत व्यवस्था तथा सुविधा नदिएको कारण लघुवित्त कम्पनीहरुले हाल मर्जरमा चासो नदेखाएका हुन् ।

प्रकाशित : १६ असार २०८१, आईतवार ११:३५