सगरमाथाको उचाइ आफैँ नाप्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

सगरमाथाको उचाइ आफैँ नाप्ने तयारी



काठमाडौं ,१८ चैत ।नेपालले पहिलो पटक आफ्नै खर्चमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने तयारी अघि बढाएको  छ।
नापी विभागका अधिकारीहरुले सगरमाथाको उचाइ नाप्न लाग्न सक्ने १० करोड रुपैयाँसम्मको खर्च उपलब्ध गराउन सरकारलाई अनुरोध गर्न लागिएको जनाएको छ।
माग गरिए बमोजिम रकम निकासा भएमा आगामी वर्ष उचाइ मापनको विधी, आवश्यक उपकरण लगायतका भौतिक पूर्वाधारको तयारी, आमन्त्रण गरिनुपर्ने विज्ञ र अन्य जनशक्ति समेतका विषयको टुङ्गो लगाईने बताइएको छ।
सन् १८४७ मा भारतीय सर्वेक्षकहरुले सुरुमा दार्जि्लिंग नजिकैबाट पहिलो पटक सगरमाथा देखेपछि यो विश्वको अग्लो हिमाल हुनसक्ने आँकलन गरेको बताइन्छ।
सन् १८४९ मा पहिलो पटक तत्कालिन ब्रिटिश इण्डियामा सर्वेक्षकका रुपमा कार्यरत रहेका भारतीय सर्वेक्षण विभागका राधानाथ सिकधरले गणितीय विवरण तयार पारी सगरमाथाको उचाइ पत्ता लगाएका थिए ।
१९५५ मा नापिएको सगरमाथाको उचाइ ८८४८ मिटरे विभिन्न अध्ययन गरि मान्यता दिइएकोे हो।
दुई वर्षअघि नेपालमा गएको शक्तिशाली भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने आँकलन गरिंदै आएको छ। भूकम्पपछि हुनसक्ने चासो समेतलाई सम्बोधन गर्नका लागि सगरमाथाको उचाइबारे नयाँ सर्वेक्षण गरिनुपर्ने भएको छ ।
नेपाल आफैंले सर्वेक्षण गरि विस्तृत विवरण सहितको नाप नक्सा तयार गर्नुपर्ने विभिन्न क्षेत्रबाट माग आएपछि पछिल्लो तयारी अघि बढाइएको नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले बताए।
नापी विभागका अनुसार सन् १८५५ यता भारत, चीन, अमेरिका, इटली, डेनमार्क लगायत देशका सम्बन्धित विज्ञहरुले पटकपटक सगरमाथाको उचाइ मापन गरेका छन्।
नेपालले पनि पछिल्ला वर्षहरुमा उचाइ मापनका लागि प्रयत्न गरेको भएपनि बजेट अभाव र सरकारको प्राथमिकतामा नपरेका कारण मापन गर्न नसकिएको अधिकारीहरु बताउँछन्।
हिमालको उचाइ नाप्नका लागि उच्च हिमाली भेगमा धेरै समय खटिनुपर्ने, शेर्पा सहितका जनशक्तिलाई तालिम दिनुपर्ने र अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्तिका लागि विज्ञहरुको सहयोग लिनुपर्ने बताइन्छ।
नापी विभागका महानिर्देशक भट्ट भन्छन, “तराईबाट मापन गर्दै हामीले माथिसम्म पुग्नुपर्ने हुन्छ। त्यस्तै किसिमका महंगा उपकरण र यन्त्रहरु खरिद गर्नुपर्ने हुन्छ। अहिलेको हकमा १० करोड रुपियाँसम्म लाग्ने हामीले अनुमान गरेका छौँ।“( बि.बि.सि नेपालको सहयोगमा )

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ०७:३९