उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ४३ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ४३ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ४३ करोड रुपैयाँ लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा एक अर्ब १४ करोड ४० लाख, विकास बैंकहरुमा २१ करोड ४५ लाख र फाइनान्स कम्पनीहरुमा सात करोड १५ लाख रुपैंया मुद्दती निक्षेपमा राख्न लागेको हो।

बैंकले उक्त निक्षेप २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो। उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले जेठ २७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

त्यसैगरी,निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहीबार १६:२६