सबै अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

सबै अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

हाल काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी (औषधि पसल) सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकाले ५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो ।

सर्वोच्च अदालतले २०७४ असोज २ गते नै अस्पतालहरुलाई आफ्नै फार्मेशी सञ्चालन गर्न आदेश दिएको थियो । नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार पनि अस्पतालहरूको न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर काठमाडौंका अधिकांश अस्पतालले फार्मेशी सेवा सञ्चालन निर्देशिका तथा सर्वोच्चको आदेशको अटेर गर्दै अन्य व्यक्तिहरुलाई फार्मेशी सञ्चालन गर्न दिइरहेका छन् ।

जसकारण उपभोक्ताहरुले चर्को मूल्य तिरेर गुणस्तरहीन औषधि लिन बाध्य भएकाले उल्लिखित कानूनी व्यवस्था सर्वोच्च अदालतको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रूपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सबै अस्पतालले अनिवार्य फार्मेशी सञ्चालन गर्नुपर्ने महानगरले बताएको छ ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार ११:४५