प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न निजी क्षेत्र प्रतिबद्ध छ : अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न निजी क्षेत्र प्रतिबद्ध छ : अध्यक्ष ढकाल



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

बिहीबार काठमाडौमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तरराष्ट्रिय विशेषज्ञ संवादमा बोल्दै उनले नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए ।

उनले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रतर्फको संक्रमणलाई बढावा दिन जलवायु वित्तीय व्यवस्थापनको महत्वपूर्ण आवश्यकताको बारे जोड दिए । साथै उनले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरू बारेमा प्रष्ट्याएका थिए ।

उनले निजी क्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको बताउँदै जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको बताए ।उनले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार र सशक्त सार्वजनिक(निजी साझेदारीका लागि आह्वान पनि गरेका छन् ।

साथै उनले राष्ट्रिय रणनीतिहरूमा जलवायु वित्तीय व्यवस्थापनलाई समावेश गर्ने, अनुदान वित्तपोषण र प्रविधि हस्तान्तरणका लागि अन्तरराष्ट्रिय साझेदारहरूसँग सहयोगको महत्वलाई जोड दिए ।

उनका अनुसार ग्लोबल आइएमई बैंक र ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड बीचको २५ मिलियन डलर सम्झौताले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनाहरूलाई वित्तीय सहायता गर्नेछ।

यस वित्तपोषणले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनाहरूलाई बलियो बनाउने भने लघु, साना तथा मझौला उद्योगलाई लाभ पुर्याउने र नेपालको जलवायु प्रतिरोध क्षमता बढाउनेछ।

जलविद्युतमा निजी लगानीबाट १ हजार ७४४ मेगावाट विद्युत उत्पादन भइरहेको छ । विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेका छन्।

विद्युतीय सवारी प्रवर्द्धनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ। पर्यावरण मैत्री पर्यटन र केबलकार परियोजनाहरूको प्रवर्द्धनले पनि कार्बन उत्सर्जन घटाउन र दिगो विकासलाई प्रवरद्धन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहीबार १८:२१