उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्ने कार्यले सकारात्मक सन्देश दिदैन: निजी क्षेत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्ने कार्यले सकारात्मक सन्देश दिदैन: निजी क्षेत्र



काठमाडौं । संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो-कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा सबै स्पष्ट रहेको जनाएका छन्। कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने जनाएका छन् ।

विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेको स्मरण गराएका छन् ।

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने माग रहेको तीनवटै संस्थाले जानकारी गराएका छन् ।

‘थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह गरेको स्मरण गराएका छन् । यो अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिन नहुने संयुक्त सुझाव रहेको छ ।

‘कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन’ जारी सयुक्त बक्तव्यमा भनिएको छ‘ अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ ।’

देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहीबार १३:१२