काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार शुरु गरिएको बताए ।
शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् । नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गरे ।
उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे । उनले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए ।
प्रधानमन्त्रीले भने ‘सुन काण्डको निष्पक्ष अनुसन्धान, नागरिकता ऐन, राहदानी लगायत सामाजिक क्षेत्रको सुधार, श्रमजीवीहरूको ज्याला वृद्धि भएको छ ।’
प्रधानमन्त्रीले सञ्चारकर्मीलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने प्रयास भएको तथा किसानका लागि रासायनिक मलको व्यवस्था गरेको भन्दै यो वर्ष मलको समस्या नहुने बताए । उनले विद्युत् व्यापारका लागि हस्ताक्षर लगायत सरकारले गरेका कामले अध्याँरोमात्र नभएर हाम्रा अगाडि उज्यालो पनि छ भन्ने सङ्केत गरेको बताए ।
Comment