आइएमई लाइफको नाफामा उछाल, कस्ता छन् अन्य सूचक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफको नाफामा उछाल, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १८ करोड ८६ लाख रुपैयाँ थियो ।

कम्पनीले समीक्षा अवधिसम्म तीन अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको दुई अर्ब ८९ करोडको तुलनामा ७.७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट तीन करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ३९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी चार अर्ब १२ करोड र खुद दाबी भुक्तानी दुई अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिका तुलनामा १४.०९ प्रतिशतले धेरै हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले तीन अर्ब ७९ करोड रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ९१ लाख र रिटेन्ड अर्निङ ८५ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वृद्धि भएको छ । कम्पनीको ईपीएस ८.९८ रुपैयाँबाट बढेर ११.०५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७७.२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार १४:४३