नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि हामी तयार छाैँः चन्द्र ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि हामी तयार छाैँः चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

आइतबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताए । नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने भनाइ उनकाे थियाे । विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उनले बताए ।

नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको जानकारी दिए । नेपाल र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्म पुर्‍याउने उनले बताए ।

त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको पनि उल्लेख गरे । नेपालको सा‌स्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने भनाइ उनले राखे ।

अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको उत्पादन भएको उल्लेख गर्दै उनले भने, ‘यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कुल स्थापना गर्नुपर्ने हुन्छ । जसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन, मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरुको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ ।’

हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको समेत उनले उल्लेख गरे । ‘महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषद्‌बाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ,’ उनले भने ।

मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र यूएईको दुबईमा बिजनेस समिटको आयोजना गरेको बताए । उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए ।

उनले विदेशी लगानी पुँजी र प्रविधि भित्र्याउन मात्र नभई मुलुक भित्र राजस्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताए ।

प्रकाशित : १६ बैशाख २०८१, आईतवार १२:५०