नौ महिनामा निर्जीवन बीमा कम्पनीले उठाए करिब ३० अर्ब बीमा शुल्क, सबैभन्दा अगाडी शिखर इन्स्योरेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नौ महिनामा निर्जीवन बीमा कम्पनीले उठाए करिब ३० अर्ब बीमा शुल्क, सबैभन्दा अगाडी शिखर इन्स्योरेन्स



काठमाडौं । चालु आर्थिक वर्षको नाै‌ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । चालु आवको चैत मसान्तसम्म १४ वटा निर्जीवन बीमकले २१ लाख ९३ हजार ५४७ वटा पोलिसि बिक्री वापत सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिमा कम्पनीहरुले ३० अर्ब एक करोड ४८ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा निर्जीवन बीमाशुल्क ०.०६ प्रतिशत अर्थात एक करोड ७१ लाख ५२ हजार रुपैयाँले कुल बीमा शुल्क संकलन घटेको हो।

चैत महीनामा मात्रै २ लाख ७६ हजार ८८१ ओटा बीमालेख जारी गरेर तीन अर्ब ८३ करोड २६ लाख १३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको हो ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले चार अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको रहेको छ। यो कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले दुइ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले दुइ अर्ब ५४ करोड रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले दुइ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले एक अर्ब ९७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब ८३ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले एक अर्ब ७८ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले एक अर्ब ५१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले एक अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले एक करोड १४ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार ११:५०