जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, नौ महिनामा उठाए एक खर्बबढी बीमाशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, नौ महिनामा उठाए एक खर्बबढी बीमाशुल्क



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक खर्ब १० अर्ब आठ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चैत मसान्तसम्म साे बराबरकाे बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको तुलनामा ५.११ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब चार अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

तथ्यांकअनुसार समीक्षा अवधिसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीले २९ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो नेसनल लाइफ रहेको छ। यो कम्पनीले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले यो ९ महिनाको अवधिमा १२ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै हिमालयन लाइफले १२ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले छ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा एशियन लाइफले पाँच अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले चार अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सिटिजन लाइफले चार अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यस्तै मेट लाइफले चार अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले तीन अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले तीन अर्ब छ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले दुइ अर्ब ९८ करोड रुपैयाँ र सन नेपाल लाइफले दुइ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रकाशित : १३ बैशाख २०८१, बिहीबार २१:०७