विदेशी विनिमय सञ्चिति साढे १८ खर्ब पुग्यो, १ वर्ष बढीको आयात धान्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेशी विनिमय सञ्चिति साढे १८ खर्ब पुग्यो, १ वर्ष बढीको आयात धान्न सक्ने



काठमाडौं । विदेशी विनिमय सञ्चित करिब १९ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनामै बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनामा ३ खर्ब ३३ अर्ब ४६ करोडले बढेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा फागुन मसान्तमा १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।

२०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । माघ मसान्तसम्म १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो ।

प्रकाशित : २२ चैत्र २०८०, बिहीबार १७:५८