गरिमा विकास बैंकले ट्रेकिङ एजेन्सीलाई सहुलियत ब्याजदरमा कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकले ट्रेकिङ एजेन्सीलाई सहुलियत ब्याजदरमा कर्जा दिने



काठमाडौं । गरिमा विकास बैंकले ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का सदस्यलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा विकास बैंक र टानबीच सोमबार सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका हुन् । टानका सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता उल्लेख छ ।

सम्झौता अनुसार टानका सदस्यहरूलाई विकास बैंकले अधिकतम रु ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाख सम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने छ । यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको जनाइएको छ ।

इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्ने पनि उल्लेख गरिएको छ । साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार २०:०७