ब्रिटिस काउन्सिलद्वारा सातौँ ‘एजुकेसन सिम्पोसियम’ आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ब्रिटिस काउन्सिलद्वारा सातौँ ‘एजुकेसन सिम्पोसियम’ आयोजना



काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले सातौँ ‘एजुकेसन सिम्पोसियम’को आयोजना गरेको छ। सोमबार काठमाडौँमा ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास’ शीर्षकमा उक्त सिम्पोसियम (सङ्गोष्ठी)को आयोजना गरिएको थियो ।

ब्रिटिस काउन्सिलको यो वार्षिक सिम्पोसियम विगतका वर्षहरूमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरूमा छलफलका लागि उल्लेखनीय मञ्च साबित भएको छ। समावेशी शिक्षा, कलामार्फत सृजनशील शिक्षाको मूल्याङ्कनका लागि शिक्षणका अभ्यासहरूमा प्रविधिको समायोजनलगायतका विविध विषयमा सिम्पोसियममा परिचर्चा भएका थियो। यी छलफलहरूले नेपालको शैक्षिक क्षेत्रको दिशा तय गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको छ।

यो वर्षको सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) मा उल्लेख भए अनुरूपको ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकास’ (सीपीडी), मा केन्द्रित रहेको थियो।

शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकास (सीपीडी)का सम्बन्धी ब्रिटिस काउन्सिलको दृष्टिकोण ब्रिटिस काउन्सिलको यससम्बन्धी विश्वव्यापी बुझाइ तथा शिक्षण र शिक्षकको विकासमा रहेको विज्ञतामा आधारित छ। यस सम्बन्धमा ब्रिटिस काउन्सिलको उद्देश्य विश्वभर नै उच्च स्तरको (सीपीडी) उपलब्ध गराउने, शिक्षकहरूको अभ्यास अभिवृद्धि गराउँदै उनीहरूको सिकाइलाई सफल बनाउन योगदान दिने हो।

‘विद्यालय शिक्षा क्षेत्र योजना’ ले गुणस्तरीय विद्यालय शिक्षा र हरेक बालबालिकाका लागि न्यूनतम सिकाई उपलब्धि सुनिश्चित गर्न शिक्षकहरूको विकास तुरुन्तै गर्न आवश्यक भएको बताएको छ। शिक्षाको स्तर उकास्न ‘विद्यालय शिक्षा क्षेत्र योजना’ ले तय गरेका रणनीतिहरूमा शिक्षकको योग्यताको ढाँचालाई समसामयिक बनाउने, शिक्षक तयार पार्ने कार्यक्रमहरू लागू गर्ने, पेसागत विकास प्रणालीमा सुधार ल्याउने, शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्नेलगायतका छन्।

सिम्पोसियममा नेपालमा शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्ने सम्बन्धमा बेलायतसहित विश्वभर अपनाइएका नीति, अभ्यास र सफल मोडलहरूका बारेमा छलफल भएको थियो।

यस क्रममा सिम्पोसियममा सेन्टर फर एजुकेसन एन्ड ह्युमन रिसोर्स डेभलपमेन्टको सहकार्यमा तयार गरेका अनुसन्धान कृतिहरू ‘नेपालमा सेवारत शिक्षकका प्रशिक्षकका अभ्यास, दृष्टिकोण र पेसागत आवश्यकता’ तथा शिक्षक तालिम पाठ्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सार्वजनिक गरिएको थियो।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार १५:४२