–उद्धव अधिकारी
प्रिय साथी !
हामी छुटिएको पनि लामो समय भएछ । आहा कति रमाइला दिन थिए ती । संगै लेकबेंशीमा मेलापात गएको र खर्कमा गोठालो जाँदा डण्डिबियो खेलेको भुलेका त छैनौ नी साथी ?
सुन्दैछु बैदेशिक रोजगारका नाममा घरहरू वृद्धाश्रम बन्दैछन् अरे । हिंजो कुवेरको भण्डार रहेका गांउहरु आज रित्तिदै छन अरे । बसुन पनि कसरी खेती गर्न समयमा उपयुक्त मल बिउ प्रविधि पाइँदैन । बालिमा व्यपारी र वन्यजन्तुको रजाइ छ । नचाहिँदा बाढी चाहिदा खडेरीको दुःख सहिनसक्नु छ । न किसानलाई राज्यद्वारा पहिचान छ न किसानीलार्इ समाजद्वारा सम्मान छ ।
दःःखलाग्दो कुरा त यो छ कि तिमी किसान बन्न चाहान्छौ सरकार करदाता बनाउन चाहन्छ । तिमी नागरिक बन्न चाहान्छौ दलहरु मतदाता बनाउन चाहन्छन । तिमी सहज जीवनयापनसहित आफ्ना सन्तानलाई आफैंसँग राख्न चाहन्छौ । सरकार तिम्रो सन्तानलाई वैदेशिक रोजगारीका नाममा देश निकाला गर्न चहान्छ । उसले न तिमीलाई उत्पादन गर्ने वातावरण मिलायो । न तिम्रो उत्पादनको लागत मुल्य दिलायो । उ त तिमीलाइ साहुजीसंग मल बिउ प्रविधिको मुल्य सोधेर किन भन्छ । तिमीले दुःख गरेर फलाएको उत्पादनको मुल्य फेरि साहुजीसंगै सोधेरै बेच भन्छ । तिम्रो लगानी उठ्नु र नउठ्नुसंग उसलाई केही मतलव छैन । उ त फगत तिम्रा नाममा झण्डा हल्लाउँछ । पिडा सहन नसकेर तिमी रोयौ करायौ भने त झन डण्डा हल्लाउछ ।
उसले स्वदेशी बिउ र ब्याड बिदेशीलार्इ जिम्मा लगायो । आफ्नो अनुसन्धान केन्द्रलाई अपाङ्ग बनायो । उ रैथाने बिउ र पशु बस्तुलाइ प्रवर्द्धन गर्न जान्दैन । उ तिमीले प्रयोग गर्ने गरेको ब्याड र बिउलाई औपचारिक मान्दै मान्दैन । उ तिमीले प्रयोग गर्ने गरेको गोठे मल त मलनै होइन भन्छ । उ मल भनेको डलर तिरेको रसायन मात्रै हो भन्छ । उसको नाटक बुझिसाध्य छैन । उ समर्थन मुल्य तोकिदिन्छ तर आफु किन्दैन् । किसानलाई बाली तथा पशुपक्षी बिमा गर भन्छ तर कम्पनीलाइ नै बिमा गरेको भुक्तानी दिदैन् । खेतीमा काम गर्नेलाई सुलभ ब्याजदरमा ऋण दिन्छु भनेर लोभ्याउँछ । तर, कुराका खेती गर्नेहरूलाई सुविधा कोच्याउछ । उ त तिमीले निर्वाहमुखि कृषि गरेकोमा रूष्ट छ । त्यसैले उ तिमीलाई घर र गाउँबाट मात्रै होइन देशबाटै निकाल्न हदैसम्म खसेको छ । जिम्मा लिने बिदेशी पाएको दिन कृषिमा बैदेशिक लगानी भन्दै उ तिम्रो किसानी बिदेशीलाइ जिम्मा लगाउन साइत कुरेर बसेको छ ।
प्रिय मित्र !
आजकल सरकारी अनुदान पाउन तिमीजस्तो खेतबारीमा घोटिने श्रमजिवी होइन झोलामा खेती गर्ने पार्टीका नेता कार्यकर्ता हुनुपर्छ । तिमीले धेरथोर अनुदान पायौ भनेपनि घरमा पालिरहेका गाई बाख्राले पुग्दैन । दुईवटा गाई छन भने अठार वटा थप्नुपर्छ । चारवटा बाख्रा छन भने बिसवटा थप्नुपर्छ । त्यसको लागि तिम्रो घरभन्दा धेरै ठुलो गोठ बनाउनुपर्छ । साहुसँग लिएको ऋणले गोठ खोर दाना पिठो परालमा लगानी गर्नुपर्छ । यतिखेरसम्म तिम्रो जायजेथाले नभ्याउने लगानी भइसकेको हुन्छ । जब तिमी गाईको दुध बेच्छौ उचित मुल्य त पाउदैनौ नै दुध बेचेकोसम्म पैसा पाउदैनौ । तिम्रा बारीको फर्सी बिक्दैनन, दशैंमा घरमा पालेका खसी बिक्दैनन् । अनी मैले जस्तै तिमीले पनि तिम्री अर्धाङ्गिनीलार्इ अन्तिम चिठ्ठी लेख्न बाध्य हुनेछौ प्रिय मं यो संसारबाट सधैंकालागि विदा हुंदैछु ।
सरकार तिमीलाइ सघाउने होइन सताउने नीतिले भरिपूर्ण छ । तिम्रो पक्षमा अक्षर लेख्नै चाहदैन् । नीतिमा लेखिएका एकाध बुंदाहरू पनि कार्यान्वयन गर्दै गर्दैन् । राजश्व घट्छ भनेर भुमि ऐनको नियमावली कार्यन्वयन गर्दैन् । खर्च बढ्छ भनेर खाद्य सम्प्रभुता ऐनको नियमावली बनाउदैन। राजनैतिक दलहरूले जसको जोत उसको पोत भनेर तिम्रा पुर्खालार्इ उरालेर सहिद बनाए । वैज्ञानिक क्रान्तिकारी भुमिसुधार गर्छु भनेर तिम्रा भोट कुम्ल्याए । हिजो जमिन्दारहरूको जमिनमा हदबन्दी लगाए । आज कम्पनीकरण मार्फत जमिनमा नयाँ जमिन्दार जन्माउँदैछन । तिमीले गोठ खोरमा पालेका कुखुरा बर्डफ्लूले बंगुर स्वाइनफ्लुले र गाइ गोरु लम्पिस्किनले मरेको खबरले मलाई मर्माहत बनाएको छ । परार सालडी वाइ र गरिमा धानमा चामल नपसेको बेमौसमी बर्षाले पाक्ने वेलाको धान डुबाएको, उखु र दुध बेचेको पैसा नपाएको जस्तो पिडामा पनि तिमीले सरकारलाई आफ्नो अभिभावक भएको अनुभूति गर्न पाएनछौ । असाध्यै दुःख लाग्यो ।
प्रिय साथी ! तिमी अन्यथा मान्दैनौ भने एउटा कुरा भन्छु ल ।
जसले तिम्रा पुस्तौं पुस्तालाई दास बनायो उनिहरू नैतिकताको कसीमा हदैसम्म तल झरिसके । आज उनीहरू तिमीलाई प्रयोग गरेर झुपडीबाट महलमा सरिसके । उनिहरू पुरानो घर छोडेर महलमा बसाँई सरिरहदा तिमी भने कृषि ब्यावसाय गरेबापत घरझिटी लिलाम गरेर सडकमा पेटीमा बसाँई सर्नुपर्ने अवस्थामा पुग्नुमा दोष उनिहरूको मात्रै छैन दोष तिम्रो पनि छ है ।
अहिले हाम्रो देशमा सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित भएको संविधान बनेको छ । तिमीले प्राप्त गरेको यो अधिकार चानचुने होइन । तर, मलाई लाग्छ तिमीले प्राप्त गरेको आफ्नो अधिकारको प्रयोग वर्ग भन्दा पर जातका नाममा भुगोलका नाममा धर्मका नाममा दलका नाममा कतै दुरुपयोग पो गरेका छौ की भन्ने शंका लाग्छ । होइन भने तिम्रो मतदानले कुर्सी उक्लने बाटो खनेकाहरू तिमीले तिरेको कर खाएर हाकिम बनेकाहरू तिम्रो पहिचान र स्वाभिमान जोडिएको तिम्रो पेशा माथि दशकौं होइन झण्डै शताब्दीसम्म किन खेलवाड गरिरहेका छन ? केही अनुमान लगाउन सक्छौ ? यदि अब पनि यो गल्ती दोहोर्याइ रहन्छौ भने तिमीमात्र होइन तिम्रा भावी सन्ततिको पनि भविष्य अनिश्चित हुने पक्का छ । अँ अर्को कुरा अब पनि तिमीले बिद्रोह नगर्ने हो भने आफ्नो हातमा समय आउँदा विवेक नपुर्याउने हो भने जीवनभर गुनासो गरेर बस्ने नैतिक आधार पनि तिमीसँग हुनेछैन है ।
मित्र ! मेरा कुराले तिमीलाइ चोट पुगेको भए म क्षमा चाहान्छु । म त हजार प्रयास गरेर पनि बांच्न सकिन र अप्रिय निर्णय लिन बाध्य भएं । मेरो अभिन्न मित्रले पनि यही अवस्था भोग्नु नपरोस भनेर त्यहां भइरहेको विश्व सामाजिक मञ्च सम्मेलनको मेसो पारेर यती लेख्ने दुस्साहस गरें कृपया नरिसाउ ल !
उही तिमीसंगै हिजो
मेलापात गर्ने साथी
Comment