कर्जा सूचना केन्द्र, कालो सूची र बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको प्रक्रियालाई अगाडि बढाउने गोष्ठीकाे निष्कर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्जा सूचना केन्द्र, कालो सूची र बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको प्रक्रियालाई अगाडि बढाउने गोष्ठीकाे निष्कर्ष



काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गए पछि त्यसको पहिचान गरी समस्या समाधान गर्ने उदेश्यका साथ आयोजना गरिएको दुई दिवस गोष्ठी सम्पन्न भएको छ । सहकारी विभागको आयोजनामा भएको ‘पोलिसी डाइलग अन कोअपरेटिभ इस्युज विथ कि स्टेक होल्डर्स’ कार्यशाला गोष्ठीले सहकारी क्षेत्रमा वर्तमान समयमा देखिएका समस्या समाधान गर्न नीतिगत र कानुनी व्यवस्थामा परिमार्जन गरेर अगाडि बढ्नुपर्ने निष्कर्ष दिएको छ ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेल गोष्ठीमा फरक विषयमा ३ वटा कार्यपत्र प्रस्तुत गरिएको र सहकारी क्षेत्रका सरोकारवाला निकायहरुबाट गहन सुझाव आएको जानकारी दिए । सहकारीसँग सम्बन्धित सबै सरोकारवाला निकायहरुसँग बसेर नीतिगत रुपमा छलफल गरेको र सहभागीबाट गहकिला सुझावहरु प्राप्त भएको उनको भनाई छ । प्राप्त सुझावहरुकै आधार विद्यमान ऐन कानुन, नियमावली तथा २०६९ को राष्ट्रिय सहकारी नीतिलाई समय सापेक्ष सुधारका लागि पहल गर्ने गोष्ठीकाे निष्कर्ष रहेको छ ।

त्यसैगरी वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको संकटको समाधान गर्न सरकार, सहकारी संघ/महासंघले खेल्नुपर्ने भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ । सहकारी संघसंस्थालाई ऋण असुलीमा समस्या भएकाले ऋण असुली न्यायाधिकरण स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाइ यथाशीघ्र सञ्चालनमा ल्याइने भएको छ ।

सहकारी क्षेत्रको समस्या समाधानमा सहयोग पुर्याउन कर्जा सूचना केन्द्र, कालो सूची र बचत तथाकर्जा सुरक्षण कोष स्थापनाको प्रक्रियालाई अगाडि बढाउने निर्णय गोष्ठीले गरेको छ । सहकारी संस्थामा सदस्यले जम्मा गरेको बचत नियतबस अपचल नगर्ने सञ्चालकहरुलाई कानुन अनुसार कारवाही गरी पीडित बचतकर्ताको बचत फिर्ता गराउन पहल गरिने निष्कर्ष रहेको छ ।

सहकारीको सैद्धान्तिक बिचलन नै अहिलको मुख्य समस्या भएकाले अब संस्थाहरुलाई मुल्य, मान्यता, स्वःनियमन र स्वःअनुशासनमा अगाडि बढाउन अभियानले प्रभावकारी रुपमा भूमिका खेल्ने सहमति भएको छ । दोस्रो तहको नियमाक निकाय कस्तो बनाउने र कसरी बनाउने भन्ने विषयमा छलफल हुँदा स्वतन्त्र र प्रोफेशनल निकाय गठन गरी उसै मार्फत वित्तीय सहकारी संस्थाहरुको नियमन तथा अनुगमन गर्ने निष्कर्ष गोष्ठीले निकालेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझावको आधारमा चैत्र मसान्तभित्र सहकारी पीडित बचतकर्ताको बचत फिर्ता गर्ने समयसीमा दिएकाले सहकारी संस्थाहरुले सोही अनुसार बचत फिर्ताको भरपर्दो योजना ल्याउनु पर्ने भएको छ । बचत फिर्ताको कार्ययोजना प्रस्तुत नगर्ने र सदस्यको बचत फिर्ता गर्न अलटाल गर्ने सञ्चालकहरुको हकमा कडा कानुनी कारवाही अगाडि बढाइने भएको छ ।

सहकारी अभियानलाई व्यवस्थित बनाउन ऐनमा भएका कतिपय व्यवस्था कार्यान्वयनका लागि अगाडी बढाइसकेको र पीडित बचतकर्ताको बचत फिर्ता गराउने प्रयास भइराखेको उनले बताए । त्यसका लागि विभागले सञ्चालक र बचतकर्ताबीच छलफल गराउने र बचत फिर्ताको स्पष्ट योजना ल्याउन दवाव दिइरहेको छ । संस्था गम्भीर आर्थिक संकटमा परेको र बचत फिर्ताको कार्य योजना पेश नगर्ने संस्थाहरुलाई कानुनी कारवाहीको लागि प्रहरी कँहा लेखेर पठाइरहेको र त्यसलाई निरन्तरता दिने उनले जनाए।

प्रकाशित : २९ माघ २०८०, सोमबार १७:४१