राष्ट्र बैंकले एकै दिन दुई अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै, यस्ता छन् सर्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले एकै दिन दुई अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै, यस्ता छन् सर्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल दुई अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँमा र कर्मचारी सुरक्षण कोषमा रहेको दुई अर्ब २० करोड रुपैंया मुद्दतीमा राख्ने जानकारी गराएको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । पेन्सन कोषको रकम मध्ये एक अर्ब ७६ करोड रुपै‌या वाणिज्य बैंकमा, ३३ करोड विकास बैंक र ११ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, कर्मचारी सुरक्षण कोषको २० करोड २० लाख वाणिज्य बैंक, तीन करोड ७५ लाख विकास बैंक र एक करोड २५ लाख फाइनान्समा राख्ने भएको हो ।

राष्ट्र बैंकले उक्त रकम १ वर्ष अवधि अर्थात्२०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म ३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरूको मुद्दतीमा उक्त रकम राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी माघ २३ गते बेलुका ७ बजेसम्म आवेदन दिन सक्नेछन।

मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजीकोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने तथा तोकिएको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने लगायतको सर्त राष्ट्र बैंकले राखेको छ।

प्रकाशित : २१ माघ २०८०, आईतवार १७:२९