जापानमा नेपाली व्यवसाय र त्यसको भविष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

जापानमा नेपाली व्यवसाय र त्यसको भविष्य



डि.पि अर्याल
पहिलेपहिले  नेपालीहरु  विदेश  जाने  कुरामा  धेरै  प्रश्नहरु  उठाउँथे  । विदेशमा  आफन्त  भएकाहरु मात्रै  विदेश जान्थे । अन्यथा कुन  देश जाने  ?  तलव कति आउँछ ? कसरी जाने विदेश ? कसले लैजान्छ ? कति पैसा लाग्छ ? अनि कति आम्दानी हुन्छ ? यी र यस्तै प्रश्नहरु निकै  चल्थे  ।  तथापि, आज परिस्थिति  फेरिएको  छ  ।  नेपाली  समाजमा मेरो छोराको विदेशमा होटल छ, मेरो छोरा  वा छोरीको रेष्टुरेन्ट छ, भतिजाको यस्तो व्यबसाय  छ,  यस्तो  कम्पनी  छ  जस्ता  कुराहरु  हुन  थालेका  छन् ।  सँगसँगै  आजकल फलानाको छोरीले पासपोर्ट लियो, फलानाको छोराको यो देश र उ देशको भिजा लाग्यो फलानो  त  एनआरएनए भएछ, जस्ता  कुराहरु  सुनिन  थालेका छन् । हरेक  विषयमा सकारात्मक र नकारात्क पाटाहरु हुन्छन् र वैदेशिक यात्रामा पनि छन् ।

डि.पि अर्याल

जापानमा बढ्दै नेपाली, विस्तार हुँदै व्यबसाय

यहाँ  कुरा  उठान  गर्न  लागिएको  छ  जापानको  । हाल जापानमा  नेपाली  समुदायको लगानी बढेर गएको छ । आर्थिक स्तर र संख्यात्मक रुपमा पनि नेपालीहरु बृद्धि भएका छन् ।  रेष्टुरेन्ट  व्यवसाय सबै  भन्दा  अघि  छ  । त्यसपछि  रेमिट्यान्स,  आयात  निर्यात,लगायतका  व्यबसायमा  नेपालदीहरु  अब्बल  भइसकेका  छन् ।   होटल,  सुपरमार्केट, ट्राभल्स,  निर्माण  लगायत  अन्य  नयाँनयाँ  क्षेत्रमा पनि नेपाली  समुदायको उपस्थिति प्रशंसनीय छ,  जुन  कुरालाई  जापान  सरकारको  विभिन्न  निकायबाट  पनि  पुरस्कृत  र सम्मान गर्ने क्रम बढिरहेको छ । हामीले गरेका लगानी भविष्यको लागि हो । जापानको कानुन,  सुरक्षानीति,  कर  तथा  कम्पनीसम्बन्धी  नियमहरु  र  भविष्यमा  हुन  सक्ने  समय सापेक्ष कानुन परिवर्तनले हामीलाई कस्ताकस्ता फाइदा र बेफाइदा पुर्याउँछन् भन्नेबारे प्रष्ट  हुनुपर्छ  । लगानी  गरीसकेपछि  अब  हामी विदेशी होइन,  यही देशको  कानुनको दायरामा  बसेर  लगानी  गरिसकेका  लगानीकर्ता  हौँ  ।  यहाँ  अब  जापानी  र  गैरजापानी भन्दा  पनि  यो  देशको  सरकारलाई  कर  तिरेर  व्यवसाय  सञ्चालन  गर्ने,  यो  देशको आर्थिक  अवस्थामा  सम्बन्ध  राख्ने  नेपाली भएका  छौं  । जसले  प्रत्यक्ष  रुपमा  जापानको अर्थतन्त्रमा प्रभाव पारीरहेको छ ।

व्यबसायमा संवेदनशिलताको आबश्यकता

यति  संवेदनशील  अवस्थामा  पुगिसकेका  हामीहरुको  व्यवसाय  गर्ने  तरिका  चाहिँ  के जापानी नागरिकहरुको जस्तै छ त ? हामी आफ्नो व्यवसायप्रति कति लगनशील छौँ ? कति  संवेदनशील  छौँ  ?  कति  दुरदृष्टिले  हेरेका  छौँ  ?  कति  अध्ययन  गरेका  छौँ  या गरिरहेका छौँ ? मानव जीवनमा सबैभन्दा संवेदनशील खानेकुरा समाजलाई दिएका छौ , भने त्यसमा हुनुपर्ने सबै सुक्ष्म विषयमा ध्यान दिएका छौँ कि छैनौं ? स्वाद, स्वस्थता, सरसफाई, प्रभावकारी सेवा, सम्मानित व्यवहार, ग्राहकको चाहनाको ख्याल लगायतका कुरामा  ध्यान  दिँदै आफ्नो  व्यवसायको  धर्म  र  नैतिकतालाई  मूल  आधार  मानेर, लगानीकर्ताले व्यवसायिक बनेर कर्मचारीले जिम्मेवार कर्मचारी भएर हामीले आआफ्ना जिम्मेवारी  निर्वाह  गरेका  छौँ कि  छैनौ  ?  यी  कुरामा  ध्यान  दिन  अति  आबश्यक  छ  ।

जसले  गर्दा हामी  सम्पूर्ण  नेपाली  समुदायले  गरिरहेका  व्यवसायमा जापानी  समाजले विदेशीले सञ्चालन गरेको जस्तो नभई जापानमा सञ्चालन भएको व्यवसायको रुपमा हेर्न सकेको हुनुपर्छ । (उदाहरणको लागि वातामी र सुसिया जस्तै) मान्न सकुन र हाम्रो व्यवसायले यो देशमा सयौँ वसन्तहरु पार गरुन् । हामी सफल व्यवसायी बन्न सकौँ । अनि हाम्रो आफ्नो जन्मभूमि र त्यहाँका जनताको लागि केही नयाँ नयाँ कुराहरु दिन सकौँ ।

मित्र भावको खाँचो
अर्कोतर्फ, पछिल्लो समय नेपालीहरुको संख्यामा आएको वृद्धिसँगै नेपाली समुदायलाई नै आफ्नो  मुख्य  बजार (ग्राहक)  बनाएर  व्यवसाय  सञ्चालन  गरिरहेका  व्यवसायी साथीहरुबीचको प्रतिष्पर्धा छ । हामी सबै व्यवसायीले ग्राहकको भावना कतिको बुझ्ने गरेका  छौँ  ?  यो  विषयमा  विचार  गर्नुपर्ने  बेला  आएको  छ  ।  नेपाली  समुदायले नेपालीद्धारा  सञ्चालन  गरिएका  व्यवसायमा  आफू  ग्राहक  बनेर  जाँदा  हामीसँग  के  के कुराको  अपेक्षा  गरेको  होला  ?  सेवा  जापानको,  भाषा  नेपालको,  व्यवहार  र  समय जापानको,  माया  र  सम्मान  नेपालको  ।  अनि  नेपालीबाटै  सुविधा  लिँदा  झन् बढी सुरक्षित  महशूस गरेको हुनुपर्छ । एउटा नेपालीले अर्को नेपालीसँग सेवा सुविधा लिँदा होस् या  मनोरञ्जन  गर्न  जाँदा  त्यहाँबाट  आफू  असुरक्षित  भयो  र  ठूलो  दुर्घटना  भयो भने त्यसको जिम्मेवार को हुन सक्छ ? सेवाग्राही ? व्यवसाय सञ्चालक ? या दुवै ? यस्ता  विषयमा  हामीहरु  गम्भीर  हुने  बेला  आएको  छ  ।  प्रतिष्पर्धाको  नाममा
नेपालीहरुबीच  नै  गलत  कामहरु  त  भएका  छैनन् ?  जसले  गर्दा  भविष्यमा  ग्राहकलाई पर्न  आउने  समस्या,  आफूले  सञ्चालन  गरेको  व्यवसायमा  पर्ने  समस्या,  यसको समाधान,  लगानीकर्ताका  लगानीको  सुरक्षा, अनि  कर्मचारीहरुको  भविष्य,  निस्कने प्रतिफल इत्यादि विषयवस्तुहरुमा सोच्ने बेला आएको छ ।

सहकार्य र सम्बन्धको अबस्था
नेपाल र जापानबीचको सुमधुर सम्बन्ध हुनुमा तपाईँ हाम्रो ठूलो भूमिका छ भन्ने कुरा हामीले बिर्सन हुँदैन । त्यस्तै, दुईदेशका नागरिक नागरिक बीच र दुई देशबीच बनेको यो  सुमधुर  सम्बन्धलाई  अझ  बढी  र  घनिष्ट  बनाउँदै  लैजाने पुलको  काम  गर्ने जिम्मेवारी पनि हामीकहाँ छ । अझ त्यो भन्दा महत्वपूर्ण जिम्मेवारी यहाँको विकास र प्रविधिको  सिको  गरी नेपालकै विकास  र  जनताको  आर्थिक  विकासप्रति  जिम्मेवार भूमिका  निभाउनुपर्नेछ  ।  यसकारणले  पनि  जापानमा  व्यवसाय  गरी  बस्ने  सम्पूर्ण नेपालीहरुबीच  सुमधुर  सम्बन्ध राख्नुपर्ने,  अनुभव  बटुलिसक्नुभएकासँग  सिक्नुपर्ने  र सहकार्य  गर्दै  अगाडि बढ्नुपर्ने आवश्यकता  देखिन्छ  ।  यसरी  यहाँ  गरीने  कार्य  र  यहाँ सिकेको सिप नेपालमै भित्राउने पद्धतिले आउँदो पुस्तालाई पनि बाटो देखाउँदै लैजाने छ ।

बढ्दै संस्थाहरु
जापानमा नेपाली समुदायको वृद्धि सँगसँगै राजनीतिक र गैरराजनीतिक संघसंस्था खुल्ने क्रम पनि धेरै रहेको छ । यसले पनि भविष्यमा कतै नेपाली नेपालीबीचको सम्बन्धमा बिकराल  अवस्था  त  ल्याउँदैन  ?  यो  विषयमा  समेत  सम्बन्धित  नेपालीहरुले  सोच्नुपर्ने देखिन्छ  ।  संघसंस्था स्थापना  र  त्यसको  नेतृत्व  लिनुअगाडि आफू  आर्थिक  तथा सामाजिक  रुपमा कति सबल छु  ? मैले नेतृत्व लिने बेला भएको छ वा छैन ? भन्ने बारेमा समेत सोच्नु उपयुक्त हुन सक्छ । जसले त्यो संस्थाको भविष्यमा प्रत्यक्ष प्रभाव राख्दछ ।

सामाजिक संजालको विकराल

यता  सामाजिक  सञ्जालको  प्रयोगले सुविधाका  लागि  र  विश्व  बजारमा  व्यवसाय सञ्चालन गर्नेहरुले नयाँ नयाँ विलासिताका उत्पादन ल्याउनका लागि सहयोगी भूमिका खेलेको होला । तर त्यसको प्रयोगमा ध्यान नदिने हो भने प्रयोगकर्ता र समाजमा अरु धेरैले दुःख कष्ट भोग्न नपर्ला भन्न सकिम्दैन । किन कि विभिन्न फोटो, भिडियो र लेख रचनाहरु हँचुवाको भरमा प्रशारण र प्रकाशन गरिएका हुन्छन् । सबै वास्विकता बुझेर मात्रै  त्यस्ता  सामग्री  सार्वजनिक  गरियो भने मात्रै त्यसले  समाजलाई सकारात्मक बनाउनुका साथै वास्तविक कुरा बुझ्ने अबसर दिने छ ।

२०७३ फागुन ३० गते सोमबार प्रकाशित

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ०५:२९