जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा. महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा. महत



बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले यस्ताे बताएका हुन् ।

उनले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए ।

मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए । उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’

एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।’

प्रकाशित : ८ माघ २०८०, सोमबार १४:४८