बीमा पोलिसी सरेन्डर गर्नेको संख्या एक महिनामै करिब ३७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा पोलिसी सरेन्डर गर्नेको संख्या एक महिनामै करिब ३७ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा बीमा पोलिसी सरेन्डर गर्नेहरु करिब ३७ प्रतिशतले बढेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।

प्राधिकरणका अनुसार मंसिर महिनामा हाल सञ्चालनमा रहेका १४ बीमा कम्पनीका नाै‌ हजार ७४४ बीमालेख सरेन्डर भएका छन् । यस अवधिमा बीमितहरुले एक अर्ब आठ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।

गत कार्तिक महिनाको तुलनामा मंसिरमा बीमालेख सरेन्डर गर्ने बीमितको संख्या ३६.७४ प्रतिशतले बढेको हो । जबकी गत कार्तिक महिनामा छ हजार ९१ बीमितहरुले ७९ करोड ४९ लाख ८९ हजार रुपैंयाको बीमा पोलिसी सरेन्डर गरेका थिए ।

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । प्राधिरकणका अनुसार मंसिरमा नेपाल लाइफका दुइ हजार ४२५ बीमितले ३६ करोड ३५ लाख १० हजार रुपैयाँको पोलिसी त्याग गरेका हुन् ।

त्यस्तै, मंसिर महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २२ करोड आठ लाख १४ हजार रुपैंया बराबरको एक हजार ९४७ बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसैगरी यसै अवधिमा राष्ट्रिय बीमा संस्थानको १२ करोड पाँच लाख ६६ हजार रुपैंया बराबरको एक हजार ५८५ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको एक हजार ९९ वटा बीमालेख मार्फत आठ करोड ७१ लाख ७६ हजार रुपैंया बराबरको पोलिसी त्याग भएका छन् । हिमालयन लाइफ इन्स्योरेन्सको ७१८ वटा बीमा लेखमार्फत पाँच करोड ८७ लाख ७८ हजार रुपैंयाको सरेन्डर भएको छ । सूर्यज्योति लाइफको छ करोड ४९ लाख रुपैया बराबरको, नेशनल लाइफ इन्स्योरेन्सको छ करोड ८२ लाख ७५ हजार रुपैयाँ बराबरको ४२२ वटा, मेट लाइफको ३२६ वटा बीमालेख मार्फत तीन करोड ८० लाख रुपैंया बराबर, सानिमा रिलायन्सको दुई करोड ३४ हजार रुपैंया बराबरको १६० वटा, यस्तै, सिटिजन लाइफको९२ लाख ३० हजार रुपैयाँ बराबरको १४६ वटा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट एक करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरको १४० वटा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६६ लाख ८६ हजार रुपैंया बराबरको ११८ वटा, आइएमई लाइफको एक करोड १४ लाख ५४ हजार रुपैंया बराबरको ११२ वटा र सबैभन्दा कम सन नेपाल लाइफको ६५ लाख पाँच हजार रुपैंया बराबरको ७२ वटा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १३:२८