सांग्रिला डेभलपमेन्ट बैंककाे नाफामा ३९.८२ प्रतिशतले कमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार टिभी

सांग्रिला डेभलपमेन्ट बैंककाे नाफामा ३९.८२ प्रतिशतले कमी



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले १० करोड दुई लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८२ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४१.४० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३९.२१ प्रतिशत घटेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ। तीन अर्ब ४३ करोड नौं लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा एक अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १५:५१