दश वर्षलाई ऊर्जा दशक घोषणा गरौँ : अध्यक्ष कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दश वर्षलाई ऊर्जा दशक घोषणा गरौँ : अध्यक्ष कार्की



काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भएमात्रै मुलुक समृद्ध हुने बताएका छन् ।

बिहीबार इप्पानको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि जलविद्युत विकास पहिलो भएको बताएका हुन् ।

उनले सरकारले १० वर्षमा २८ हजार भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्न ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत भएको दाबी गरे ।

उनले बैंक तथा वित्तीय क्षेत्रले पनि जलविद्युतमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । उनले १० वर्षमा २८ हजार बढी विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए ।

उनले त्यसका लागि नेपाल भित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि ऊर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रुपमा विकास गरी सबै काम ऊर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

ऊर्जा क्षेत्रका सबै काम ऊर्जा मन्त्रालयबाट नै हुनेगरी ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले सरकारले जलविद्युत क्षेत्रका लागि धेरै खालका नीतिगत सुधारहरू गर्नुपर्नेमा जोड दिए । जलविद्युत उत्पादनका लागि झन्झटिला नीति र कार्यविधिहरूलाई सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल हुनसक्ने दाबी उनको छ ।

उनले भने ‘अबको १० वर्षलाई ऊर्जा दशक घोषणा गरौं । जलविद्युत उत्पादक व्यवसायीहरूले यो क्षेत्रमा धेरै समस्याहरू भोगी रहेका छौं । त्यसको समाधानको लागि सरकारकाले ऊर्जा संकट लगाएर आगामी दश वर्षलाई ऊर्जा दशकको रुपमा घोषणा गर्नुपर्छ । जलविद्युत क्षेत्रमा धेरै खालमा सुरक्षा र तोडफोड भोगिरहेका छौं । त्यसैले अबको दश वर्षलाई ऊर्जा दशक घोषणा गरौं । ऊर्जा विकासको लागि सङ्कटकाल लगाउनुपर्छ । सरकारले यो कुरालाई कार्यान्वयन गर्छ भन्ने आशा छ । जलविद्युत उत्पादन भन्दा बाहेकको आम्दानी हुँदैन । जलविद्युत कम्पनीको बैंकको ब्याजदर वृद्धि,ट्रान्समिसन लाइन,बाढी र पानीको समस्या लगायतको कारण आम्दानी घट्दै छ । कम्पनीको आम्दानी फिक्स छ तर घट्दो क्रममा छ । त्यसैले सरकारले नयाँ–नयाँ नीति र करको दर ल्याउन थाल्यो भने ऊर्जा व्यवसायीहरू टिक्न नसक्ने अवस्था हुँदैन । बैंक तथा वित्तीय संस्थाहरूले जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने दिन आएको छ । १० वर्षमा २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्छ । त्यसमा नेपालभित्रबाट कति सम्भव छ । राष्ट्र बैंकले पनि त्यो कुरामा सोच्नुपर्छ । बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि सोचिदिनुपर्छ जस्तो लाग्छ । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत हो । पहिला ७ मन्त्रालय र २०० टेबल भन्ने गथ्र्यौं । अहिले १४ मन्त्रालय जानुपर्छ । सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएर हिँड्ने हो भने ऊर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रुपमा विकास गरी सबै काम ऊर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक छ । धेरै खालका नीतिगत सुधारहरू गर्नुपर्छ । जलविद्युत उत्पादनका लागि झन्झटिला नीति र कार्यविधिहरू छन् । तिनीहरूलाई सरकारले सुधार गरेर लैजानुपर्छ ।’

अध्यक्ष कार्कीले अबको १० वर्षलाई ऊर्जा दशक घोषणा गर्न माग गरे । उनले पछिल्लो समय जलविद्युत उत्पादनमा विभिन्न खालका समस्या रहेकाले कम्पनीहरूको आम्दानी समेत घट्ने अवस्थामा रहेको बताए ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार ०७:२१