सरकारको लक्ष्यभन्दा कम राजस्व संकलन, ६ महिनामा आम्दानी पाँच खर्ब १८ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारको लक्ष्यभन्दा कम राजस्व संकलन, ६ महिनामा आम्दानी पाँच खर्ब १८ अर्ब



काठमाडौं। सरकारले चालु आर्थिक वर्षको छ महिनासम्मको अवधिमा ३५.१९ प्रतिशत अर्थात् पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार समीक्षा अवधिमा सरकारको लक्ष्यभन्दा कम राजस्व उठेको हो ।

चालु आर्थिक वर्षमा सरकारले कर, गैरकर र ग्रान्ट ९सहयोग० लगायतका माध्यमबाट १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो। चालु आवको अर्धवार्षिक अवधिमा सरकारले लक्ष्यको आधा पनि राजस्व उठाउन नसकेको तथ्यांकले देखाउछ। गत आर्थिक वर्षको पुस मसान्तसम्म २८ अर्ब ४० करोड ९१ लाख रुपैयाँ मात्रै कर उठेको थियो।

तथ्यांकका अनुसार समीक्षा अवधिमा राजस्वतर्फ कर शीर्षकमा चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ सङ्कलन भएको छ भने गैरकरतर्फ ५२ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ (लक्ष्यको ४५.२३ प्रतिशत) र अनुदानतर्फ जम्मा दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ प्राप्त भएको छ ।

चालू आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्म पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख रूपैंया खर्च भएको छ। यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो।

चालूगत शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ। चालू शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो।

पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा १६.३ प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थामा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ।

प्रकाशित : १ माघ २०८०, सोमबार १७:३६