विद्युत प्राधिकरणले हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने, अर्थमन्त्रालयले दियो सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

विद्युत प्राधिकरणले हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने, अर्थमन्त्रालयले दियो सहमति

६० अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासनकाे तयारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्ने भएको छ । प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अर्थमन्त्रालयबाट सहमति प्राप्त गरेको हो ।

संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरिएको हो । अर्थ मन्त्रालयको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ ।

गत मङ्सिर २५ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस सम्बन्धी आवश्यक निर्णय गरेको थियो । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट प्राधिकरणको अधिकृत पूँजी तीन खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

कुल नेटवर्थको दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । निर्देशक कुलमान घिसिङले सो निर्णय यही पुस १९ गते ऊर्जा मन्त्रालयमा पेस गरेका थिए।

प्राधिकरणको सेयरको बुक भ्यालु १२५ सोही मूल्यबराबरको प्रिमियम रकम थप गरी प्रतिकित्ता २५० रुपैयाँमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरिएको छ ।

प्राधिकरणको हाल अधिकृत पूँजी एक खर्ब २५ अर्ब बराबर छ । प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : २९ पुष २०८०, आईतवार ११:५१