विदेशी मुद्राको सञ्चिति बढेर करिब १७ खर्ब पुग्यो, १३.६ महिनाको वस्तु आयात धान्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशी मुद्राको सञ्चिति बढेर करिब १७ खर्ब पुग्यो, १३.६ महिनाको वस्तु आयात धान्ने



काठमाडौं । विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षको मंसिरसम्ममा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति मंसिरसम्ममा आइपुग्दा १४.८ प्रतिशतले बढेको छ ।

विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैंकमा रहेको यस्तो रकम मंसिरसम्ममा १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा ८।९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

२०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत छन् ।

प्रकाशित : २६ पुष २०८०, बिहीबार १८:३०