विदेशी लगानीकर्तालाई अर्थमन्त्रीले दिए लगानी सम्मेलनको निम्तो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशी लगानीकर्तालाई अर्थमन्त्रीले दिए लगानी सम्मेलनको निम्तो



भारत । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्री र लगानीकर्तालाई मन्त्री महतले सम्मेलनमा निम्तो गरेका हुन् ।

‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदै छ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्तालाई पनि निम्तो गर्छु । तपाईंहरुको इन्नोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु,’ उनले भने ।

उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताए । स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्र पनि नेपालमा रहेको उनले जानकारी गराए ।

‘दिगो र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्न व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ,’ उनले भने, ‘राष्ट्रव्यापी रूपमा अनुशरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशका लागि प्रेरणाको स्रोत भएको छ ।’

हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको उनले जानकारी गराए ।

‘यसले नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्नेछ । यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा सङ्क्रमण लक्ष्य हासिल गर्न मद्दत गर्नेछ,’ मन्त्री महतले भने, ‘दुई विश्व आर्थिक शक्ति राष्ट्रको बीचमा अवस्थित नेपालले ९० को दशकको सुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ र धेरै अन्तर्राष्ट्रिय संस्था र बहुपक्षीय एजेन्सीहरूको सदस्य छ । र, हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यापार तथा लगानी नीति र नियमन लागू गरिरहेका छौं ।’

प्रकाशित : २५ पुष २०८०, बुधबार १६:२९