नेपाल-भारत बीच दीर्घकालीन विद्युत व्यापार सम्झौता, १० वर्षमा १० हजार मेवा बिजुली निर्यातको बाटो खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल-भारत बीच दीर्घकालीन विद्युत व्यापार सम्झौता, १० वर्षमा १० हजार मेवा बिजुली निर्यातको बाटो खुल्याे



काठमाडौं। नेपाल र भारत बीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको हो । सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट (मेवा) विद्युत् निर्यातको बाटो खुल्नेछ ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नै काठमाण्डौ आइपुगेका छन् । कहिले कति मेगावाट र कति मूल्यमा खरिदबिक्री गर्ने भन्ने लगायतका विषयको सम्झौता भने पछि हुँदै जाने बताइएको छ । यो सम्झौताले नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा सुनिश्चित गर्नेछ ।

नेपाल सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीति समेत बनाएको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारत लगायतका देशमा निर्यात गर्ने लक्ष्य छ ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १४:१६