सुनमा गरेको लगानी आर्थिक समस्या टार्ने माध्यम बन्छः माणिक रत्न शाक्य (अन्तर्वार्ता) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनमा गरेको लगानी आर्थिक समस्या टार्ने माध्यम बन्छः माणिक रत्न शाक्य (अन्तर्वार्ता)



काठमाडौं । नेपालमा सुन–चाँदी दुवै आयातमा निर्भर छ । विश्व बजारमा हुने उतारचढावले स्थानीय बजारमा पनि सीधा प्रभाव पर्ने गर्छ । पछिल्लो समय अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै सुनको मूल्यमा वृद्धि भएको देखिएको हो । फलस्वरुपः लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन थाले। सुनलाई विश्वभर नै लगानीको सबैभन्दा सुरक्षित क्षेत्रमध्येको एक मानिन्छ । लामो समयदेखि सुनको मूल्य चुलिंदै आएको छ । विश्वमा कुनै तनाव भयो भने आम लगानीकर्ता सुरक्षाको खोजीमा सुनतर्फ आकर्षित हुन थाल्छन् । यसबाट एकाएक माग बढ्न गई मूल्यसमेत चुलिने गरेको व्यवसायीहरु बताउँछन् ।

यस्तै, नेपालको माग र आपूर्तीले पनि सुनको मूल्य निर्धारणमा सामान्य असर गर्ने व्यवसायीहरु बताउँछन् । त्यसो त आयात निर्यातको तथ्याङक हेर्ने हो भनेपनि २०७९/८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँको २ हजार ९ सय १६ किलो सुन नेपाल भित्रिएको थियो । जसबाट राज्यले २ अर्ब ५३ करोड ८३ लाख ५८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो । त्यसैगरी चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा ७ अर्ब ३५ करोड २० लाख ९३ हजार रुपैयाँको नौं सय किलो सुन आयात भएको छ । जसबाट १ अर्ब १० करोड २८ लाख २४ हजार राजस्व संकलन भएको छ। यसरी सुनको मुल्यमा भएकाे व्यापक उतरचढावलाई लिएर नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यसँग गरेकाे संक्षिप्त कुराकानी:

सुनको मुल्य निरन्तर बढिरहेको छ । के कारण होला ?

खासमा सुनचाँदीको मुल्य बढ्नुमा अन्तर्राष्ट्रिय कारण नै हाबी भएको देखिन्छ । यसमा नेपालको खासै भुमिका छैन।अन्तर्राष्ट्रिय बजारमा जुन तरिकाले बढिरहेको छ त्यो प्रबृतिको असर नेपालमा पनि उस्तै छ ।

सुनको मुल्यले आगामी दिनमा कस्तो रुप लिन्छ ? इतिहासमा कहिले सुनको मूल्यमा अहिलेको जस्तो उत्तरचढाव भएको थियो ?

 केन्द्रीय बैंकका नीतिहरु, भूराजनीतिक तनाव र आर्थिक सूचकांक लगायत विश्वव्यापी कारकहरुबाट आगामी दिनमा सुनको मुल्य अझ बढ्ने सम्भावना छ । यस्तो उतरचढाव भइरहन्छ । केहि समय अगाडी पनि तल झरिसकेको थियो फेरी बढ्यो । इतिहासमा पनि केहि समयका लागि बढ्ने फेरी घट्ने भएका थिए। अहिलेपनि त्यहि क्रम चलिरहेकै छ ।

 यसले सुनचाँदी व्यवसायलाई कस्तो असर गर्ला ?

सुुनको भाउ बढेपछि व्यवसायमा नकारात्मक असर त त्यसैपनि पर्छ । यसले खासमा सकारात्मक र नकारात्मक दुई किसिमको असर पारेको हुन्छ । नकारात्मक असर बढी छ । सकारात्मक भनेको समृद्धि हो । मानिसले संचिति गरेको सामानको मुल्य बढ्छ । मानिसको सम्पत्ति बढ्नु एउटा राम्रो पक्षको रुपमा मानिन्छ । तर यसको नकारात्मक पाटो भनेको अब किन्नलाई के गर्ने ? पहिला एक लाखमा सुन किनिन्थ्यो भने अहिले २२ हजार पैसा बढी हालेर कसरी किन्ने ? यसले गर्दा नकारात्मक पाटो यसले ल्याउँछ । एक लाख रुपैंयाँ तोला हुुँदा जति डिमाण्ड आउथ्यो भाउ बढेपछि डिमाण्ड घट्दै जान्छ र व्यवसायमा नकारात्मक असर पार्छ । काम गर्नेले काम पाउदैनन् । सरकारको जति राजश्व उठ्नुपर्ने हो, उठ्दैन् । त्यसैगरी नेपालको सन्दर्भमा पछिल्लो समय व्यापार व्यवसाय खस्किदो अवस्थामा छन् । आर्थिक मन्दी छाएको छ । मानिससँग पैसा छैन् आम्दानी घट्छ जसले गर्दा एकातिर चाप पर्छ भने अर्कोतिर मुल्य बढ्नाले दुईतिरको चापमा पर्ने सम्भावना बढी देखिन्छ ।

धेरैजसो सुन खरिद प्रयोगकर्ताले के प्रयोजनका लागि सुन खरिद गर्छन् ?

 धेरैजसो घरायसी, सामाजिक, सांस्कृतिक, धार्मिक प्रयोजनका लागि नै बढी खरिद विक्री हुने गर्छ । विवाह, विभिन्न उत्सव दशैंं तिहारका लागि बढी विक्री हुन्छ । त्यसैगरी, धार्मिक प्रयोजनका लागि विभिन्न मठ मन्दिरमा जलहरीको रुपमा प्रयोग हुन्छ । पशुपतिमा ११० केजी सुनको जलहरी लगाए । मनकामना मन्दिरमा सुनको छाना लगाउन ३२ केजी सुन त्यहि खर्च भयो । स्वयम्भूमा जलप लगाउन ७० केजी खर्च भयो । यस्ता धेरै उदाहरण छन् । जुन धार्मिक रुपमा प्रयोग भएका छन् ।

सुनचाँदी व्यवसायमा चुनौति कत्तिको छ ?

हरेक व्यवसायमा जोखिम हुन्छ । त्यसैगरी सुनचाँदी व्यवसायमा पनि जोखिम निकै छ । अहिले सुनको मुल्यमा भइरहेको उत्तारचढाव जुन छ यो सबैभन्दा ठुलो जोखिम हो । आज एक लाखमा सुन किनियो भने भोलि त्यो मुल्य बढेर एक लाख १५ हजारमा आउन सक्छ । त्यसैले एकैचोटीमा एक तोला सुनमा १५ हजार रुपैंयाँको तलमाथि हुनु भनेको ठुलो जोखिम भयो । त्यसैले  यसले जोखिमको पाटोलाई बढाउँछ। अर्कोकुरा भनेको कन्जुमरको पाटोबाट हेर्दा सुन सस्तो भएको बेला मान्छेले सुन किन्न डराउँछ। अझै घट्छ कि ? घटेपछि किनौला भन्ने सोचाई बनाएको हुन्छ। त्यसले गर्दा बजारमा सुनको मुल्यमा उतारचढाब आइदिन्छ र हामीले पाउनुपर्ने मुनाफा पाएका हुँदैनौ । अर्को उतारचढाब भनेको व्यवसाय गर्नेका लागि एकदमै व्यवस्थित गर्न नसकिने गाह्रो बिषय हो । सुन किन्न एउटा भाउमा अडर लियो । गहना बनिसक्दा भाउ बढेर उचाई चुम्छ।  यो ब्यबसायको लागि जोखिमको पाटो छ। सरकारले कोटा सिस्टम लगाएको छ। जसले गर्दा हामीले अडर अनुसारको पुर्ति गर्न सजिलै सक्दैनौ। सुनको मुल्य उतारचढाव हुँदा जति फाइदा लिन सकिने ठाउ छ त्यसमा आपुर्तिको वितरण प्रणालीले उपभोक्ता र व्यवसायी दुबै मारमा परेका छन् । सुनको सप्लाई नियन्त्रण भइसकेपछि बजारमा भएको जोखिम न्युनिकरण गर्ने औजारको नेपालमा कमी छ ।

अर्थतन्त्रको अरु क्षेत्रभन्दा सुनचाँदी व्यवसायमा बाहिरी अर्थतन्त्रले प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसबाट हुन सक्ने जोखिम न्युनिकरण गर्न के गर्नुपर्ला ?

 एउटा भनेको हामीले चाहेको बेला आधा किलो एक किलो जतिपनि सुन किन्न सक्ने र नचाहिएको बेला नकिने पनि हुने खालको संयन्त्र भयो भने हेजिङको जोखिम न्युनिकरण गर्ने औजारहरु त्यसमा प्रयोग गर्न मिल्छ । त्यो व्यवस्था नेपालमा छैन् । चाहेपनि नचाहेपनि सुन ५० ग्राम नै लिनुपर्यो । आपुर्तिको कारणले धेरैतिरको पहुँचमा हुने भएकाले सुन पाउने निश्चित हुँदैन् । अर्को समस्या भनेको सुन व्यवसाय विकास र विस्तार गर्ने सम्भावना न्यून हुन्छ । सिमित आपुर्तिले धेरै ठाउँमा शाखा खोलेर व्यवसाय विस्तार गर्न सकिदैन् । जति आउँछ त्यो सिमित ठाउँको लागि मात्र हुन्छ । यसले अर्थतन्त्रको विकास गर्ने अवसर सबै व्यवसायीले पाउनुपर्ने हो सरकारको पोलिसीले गर्दा त्यो अवसरबाट सुनचाँदी व्यवसायी बन्चित छन् । यो जतिपनि भइरहेको छ  भइरहेको छ । देशमा समृद्ध आओस आर्थिक गतिविधि बढोस, राजश्व बढोस्, रोजगारी बढोस् । तर सरकारको नीतिले त्यो भन्दैन् । हात खुट्टा बाध्ने अनि समृद्धि गर्र्नुहोस भनेर कसरी गर्ने । खुल्ला अर्थतन्त्रको बातावरण बनाइदिनुपर्ने त्यो हामीले पाएका छैनौ ।

नेपालमा कुन कुन देशबाट सुन आउँछ ?

हाम्रो देशमा ९० प्रतिशत दुवईबाट आउने गर्छ । त्यसबाहेक टर्की, अष्ट्रेलिया र हंङकङबाट पनि आउँछ ।

नेपालमा सुनखानीहरु छ भनिन्छ । यसमा सत्यता कतिको छ । यसबाट उत्खनन भएको सुनले हाम्रो आन्तरिक माग पुरा गर्न सक्छ ?

सम्भावना धेरै ठुलो छ । पछिल्लो समय सुदुरपश्चिम, पुर्व लगायतका नदी किनारमा भएका बालुवा चालेरमात्रै पनि थुप्रै सुन निकाल्ने मान्छेहरु छन् । उनीहरुले मुख्य पेशाकै रुपमा बालुवा चालेर २ आना ४ आना जति सुन निकालेर स्थानिय बजारमा नै वेच्ने गरिरहेका छन् । बालुवाबाट जुन सुन आइरहेको छ त्यो कहाँबाट आइरहेको छ । अनुसन्धान गरेर उत्खनन् गर्ने टेक्नोलोजी नेपालमा छैन् । त्यसैले यस्ता टेक्नोलोजीसहित चाइनिज कम्पनीहरु नेपालमा आएका छन् । हालसम्ममा यस्ता ५ वटा जति कम्पनी दर्ता भएका होला । उनिहरुले विभिन्न नदीको किनारहरुमा उत्खनन्को कार्य गरिरहेको छन् । तर नेपालमा भने व्यवसायकै रुपमा उत्पादन गरेर उद्योगको रुपमा लैजान सक्ने साधनहरु फेला परेको छैन् । अनुसन्धान गरेर साधनहरु जुटाउन समय लाग्छ  तर  त्यसको कणहरु काही न काही गएर जोडिन्छ । यो पत्ता लाग्यो भने नेपालले आन्तरिक मात्र होइन निर्यात पनि गर्न सक्छ। सुनलाई रिफाइन् गरेर विभिन्न साइजमा अन्तर्राष्ट्रिय मार्केटमा पनि बेच्न सकिन्छ ।

सुनको विषयमा सरकारसँग पनि विभिन्न मागहरु राख्दै आउनुभएको छ। कतिको सुनुवाई भए ?

 सुनुवाई नै नभएको हैन् तर कतिपय नीतिगत कुरा जुन कुराबाट देशको समग्र अर्थतन्त्रको लागि पुग्छ । त्यसकालागि अझै सुनुवाई भएको छैन् । यसका लागि पोलिसीका लागि सरकारसंग लबिङमै छौं । तर मुख्य कुरा त नेपालमा सुनको लागि कुनै कानुन नै छैन् । सुनको कारोबार खरबौ रुपैंयाँको हुन्छ । देशभरि जहाँ पनि सुन पसल देख्न सकिन्छ  । व्यापार बढ्दै छ । तर यसलाई कानुनको दायरामा ल्याएर व्यवस्थित सुरक्षित कारोबार गर्न चाहिने कानुन छैन् । त्यसका लागि बारम्बार सरकारको ध्यानाकर्षण गराइरहेका छौं । तर सरकार आफैं राजनीतिलाई कसरी स्थिर बनाउने भन्नेतिर अड्किएको हुन्छ  ।

देशको मुख्य व्यापार व्यवसायसंग सम्बन्धित विषयबस्तु भन्दा पनि अन्य विषयबस्तुले प्राथमिकता पाउँदा यी विषय ओझेलमा परेको महसुश हुन्छ । तर काम भने भइनै रहेको छ ।  पहिला १० किलोमात्र सुन ल्याउन पाउने प्रावधान थियो । बजारमा तस्करी बाक्लिदै गए । सुन ल्याउने समातिरहेको छ । नेपालको लागि यो एउटा लज्जाको विषय बन्यो । यसलाई समाधान गर्न सप्लाई बढाउनुपर्यो भनेर हामीले प्रस्ताव गरेपछि सरकारले १० किलोबाट बढाएर २० किलो पुर्याएको छ । यसले तस्करी हुनबाट बचाउनुका साथै  औपचारिक रुपमा बजार चल्ने बातावरण यसले गर्छ । समग्रमा हेर्दा सरकारले नसुनेको भन्दा पनि व्यवसायलाई चाहिने नीतिगत कानुनी कुराहरु भने हुन बाँकी नै छ । आशा छ यो पनि चाँडै हुन्छ ।

अन्त्यमा, सुनचाँदी व्यवसायलाई कसरी हेर्नु भएको छ ?

सुनचाँदी भनेको हरेक मानिसको घरको सम्पत्तिको हिस्सा हो । धेरथोर कुनैपनि नेपालीको सुन नभएको घर नहोला । यो सुन भनेकाे लगाउने गहनामात्रै हो कि ? घरको आर्थिक व्यवस्थापनको पाटोको रुपमा पनि प्रयोग हुन्छ कि । यदी हुन्छ भने आर्थिक व्यवस्थापनको पाटोमा जाँदा केही रुपमा सरकार लगाएत उपभोक्ता व्यवसायीले ग्रहण गर्ने कि नगर्ने ? दाबेदारी गर्ने धेरै छन् । सबैले यसलाई सम्पत्तीको पार्टको रुपमा हेर्नुपर्छ । सुनलाई हाम्रो संस्कृतीले, सुरक्षा र लगानीको रुपमा केही पार्ट छ्ट्याएकाे रहेछ । हामी विवाह भोज लगाएतका कार्यक्रम गर्छौं त्यसमा खर्च भएको पैसा फिर्ता हुँदैन् । तर सुनमा गरेको लगानी पछि गएर आर्थिक समस्या टार्ने माध्यम बन्छ । जुन हामीलाई हाम्रो पुर्खादेखि नै केही बचत रकम सुनमा लगानी गर्न सिकाइरहेको छ । यसले नेपालीलाई नजानिदो पाराले धनी बनाउँछ । यो कुरा सबैले बुझ्नु जरुरी छ । यी आर्थिक समृद्धीका कुरा बाहिर ल्याएर उजागर गर्न जरुरी छ । किनभने आजभोलि धेरै जसो लुटपाट, ठगीको नकारात्मक कुरामात्र आउने गर्छ । त्यसैले, सुन नेपालीको पहिचान हो जति महंगो भएपनि मानिसले किन्न छोड्दैन भने अर्को आर्थिक पाटोको रुपमा पनि लिइन्छ ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १४:५४