पुँजी बजारकाे एक बर्ष फर्केर हेर्दा, यसकारण भावी दिन सकारात्मक हुने अपेक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुँजी बजारकाे एक बर्ष फर्केर हेर्दा, यसकारण भावी दिन सकारात्मक हुने अपेक्षा



काठमाडौं । अंग्रेजी वर्षको अन्तिमसम्म आइपुग्दा पुँजी बजार त्यति उत्साहजनक रहेन। यसअघि २०२२ को अन्तिम दिन नेप्से परिसूचक २०२९.०३ विन्दुमा रोकिएको थियो । सन् २०२३ को अन्तिम कारोबारको दिन (डिसेम्बर २८) मा नेप्से परिसूचक २०६८.९० विन्दुमा आएर रोकियाे। यो पनि पछिल्ला दिनमा भएका नीतिगत सुधारले मात्र केहि मात्रामा राहत दिएको हो।

सेयर बजार १८०० देखि २२०० विन्दुसम्म नै घुमिरह्यो । त्यसो त पूँजी बजारमा वितेको एक वर्ष मात्रै साइडवेज चलेको भने होइन। बिगत २७ महिनादेखि नै बजार साइडवेजमा चलिरहेको छ । २०७८ भदौ महिनामा नेप्सेको सूचांक ३२२७ हाराहारीको उच्चतम विन्दुमा पुगेको थियो । करिब अढाइ बर्षपछि त्यो लगातार खस्किएर गत मंसिर १९ गते १८३७.७१ को विन्दुसम्म आइपुग्यो । फेरी बिचमा सरकारका केहि नीतिगत व्यवस्थाले करिब बर्षको अन्तिम समयतिर बजार २१४१.८७ विन्दुमा आयो । यसले पनि निरन्तरता पाएन यो बर्षको अन्तिम कारोबार दिनसम्म आइपुग्दा बजार घटेर पुन २०६८.९० को विन्दुमा आएर अड्कियो।

२०२३ लाई फर्केर हेर्दा नेप्से सुचक

यस बर्ष निकै उत्तरचढाव रहेको पुँजीबजार त्यति सकारात्मक बन्न सकेन्। तरपनि केहि नीतिगत सुधारले पछिल्लो समय सुधार हुने संकेत गरेको छ। किनभने यसै बर्ष एसएमई प्लेटफर्म सञ्चालन गर्न कार्यविधि बन्यो। यसैगरी, अर्थ मन्त्रालयबाट अनुमति नपाएकाले कार्यान्वयनमा आउन नसकेपनि यसै वर्ष कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्ज लाइसेन्सका लागि पक्रिया अघि बढ्यो । तर विभिन्न कारणले यसले पूर्णता भने पाएको छैन । साथै, ब्रोकर कमिसन घटाउने निर्णय पनि बोर्डले गरेको छ। यी कामहरुले पूर्णता पाएमा आगामी वर्ष सेयर बजारमा थप सुधार देखिने अपेक्षा गर्न सकिन्छ।

त्यसैगरी, यसै वर्ष जलविद्युत् कम्पनीहरुको हकप्रद सेयर र आइपीओ निष्कासनका लागि मापदण्ड तयार भयो । सर्वोत्तम सिमेन्टको आइपीओ प्रक्रिया अघि बढ्यो । नेपालका लागि बुक बिल्डिङ नयाँ प्रणाली हो ।यसले अगामी दिनमा बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन सहज वातावरण बनेको छ। यही वर्ष नयाँ ब्रोकरहरुले लाइसेन्स पाए । अहिले उनीहरुले धमाधम सेयर कारोबार गर्दै आएका छन् । त्यस्तै, आइपीओ भर्दा लाग्ने सी आस्वा शुल्क गत वर्षदेखि नै पाँच रुपैयाँ कायम भएको छ । यो पनि सेयर बजारको लागि सकारात्मक पाटो हो ।

केन्द्रीय बैंकले चालु वर्षको मौद्रिक नीति र प्रथम त्रैमासिक समीक्षामार्फत सेयर बजारमा केही लचिलो नीति लिएको छ । सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो । यस्तै, सेयर बजारमा ५० लाखभन्दा कमको कर्जामा यसअघि नै जोखिमभार १०० प्रतिशत कायम गरिसकेको अवस्था छ । साथै, ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने नीति पनि केन्द्रीय बैंकले यसै वर्ष लिएको छ । फलस्वरुपः कर्जाको ब्याजदर घट्दै गएको छ ।

२०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पनि ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । यो पनि सेयर बजारका लागि सकारात्मक पाटो हो । त्यसैगरी, कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । हाल बैंकिङ प्रणालीमा १० खर्ब बराबरकाे तरलता बजारमा छ । यो पनि पुँजीबजारकाे लागि राम्रो संकेत हो । यी कारणले पनि आगामी बर्षमा सेयर बजार सकारात्मक लयमा जाने सम्भावना देख्न सकिन्छ ।

आगामी दिनमा लगानीकर्ताका लागि सबैभन्दा खुसिको कुरा ब्याजदर घट्दो क्रममा रहेको सेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारले बताए । आगामी दिनमा अझै घट्ने भएकाले सेयर बजार सकारात्मक बाटोमा अघि बढ्ने उनले बताए। उनले भने, ‘पहिला व्याजदर बढ्यो सेयर बजार घट्यो, अब व्याजदर घट्ने क्रममा छ, बजार अवश्य पनि बढ्छ ।‘ पछिल्लो समय नीतिगत सुधारहरु भएका छन । आर्थिक सूचकहरु सकारात्मक, शोधानान्तर घाटापनि नियन्त्रणमा रहेको र भुक्तानी सन्तुलन लगाएतका बिषयलाई हेर्दा आगामी बर्ष बजारमा क्रमशः सकारात्मक माहोल आउने रौनियारको भनाइ छ ।

प्रकाशित : १६ पुष २०८०, सोमबार १०:५५