अर्थतन्त्र सुधारका लागि पुँजीगत खर्च बढ्नुपर्छ : सिबिफिन अध्यक्ष गोल्यान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र सुधारका लागि पुँजीगत खर्च बढ्नुपर्छ : सिबिफिन अध्यक्ष गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन कुमार गोल्यानले १६औँ योजनामा वित्तीय क्षेत्र र निजी क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । शुक्रबार परिसंघको ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न चौथो वार्षिक साधारण सभामा उनले यस्ताे बताएका हुन् ।

उनले आयोगले लिएका तथा भविष्यमा लिने परिमाणात्मक लक्ष्य पूरा गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु पनि योगदान गर्न तयार भएको बताए । बैंक तथा वित्तीय क्षेत्रले आर्थिक वृद्धिदर तथा कुल गार्हस्थ उत्पादन बढाउनका लागि कसरी काम गर्न सक्छन् भन्ने कुरा १६औँ योजनामा समेटिनुपर्ने उनको भनाइ थियो ।

देशको प्रमुख पेशाका रुपमा रहेको कृषि क्षेत्रसँगै उद्योग, ऊर्जा तथा सेवा क्षेत्रको उत्थान र वृद्धिमा बैंक तथा वित्तीय क्षेत्रलाई सँगै लैजान आयोगसँग उनले आग्रह पनि गरे । मन्तव्यको क्रममा अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा वैदेशिक रोजगारीमा गएकाहरुको लागि आईपिओमा १० प्रतिशत आरक्षणको व्यवस्था भएको बताए। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकलाई समावेश गर्ने व्यवस्था पनि सिबिफिनको उपलब्धि रहेको उल्लेख गरे । उनले विलाशिताका वस्तुमा कडाइका लागि सिबिफिनले गरेको पहलका कारण विदेशी मुद्राको सञ्चिती सन्तोषजनक रहेको बताए ।

अध्यक्ष गोल्यानले समग्र अर्थतन्त्र सुधारका लागि पुँजीगत खर्च बढाउन सुझाव दिएका छन् । स्वदेशी वस्तु प्रयोग गर्नका लागि भएको नीतिगत व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने, उत्पादनमूलक, निर्यातमूलक एवं रोजगारीमूलक क्षेत्रलाई सहुलियतपूर्ण ब्याजदर कायम गरिनुपर्ने, नवप्रवर्तन, स्वउद्यमशीलताको विकास तथा घरेलु, साना तथा मझौला उद्यमी तथा उद्योगको सुधार तथा स्तरोन्नतिलाई प्राथमिकता दिन सिबिफिनको तर्फबाट उनले सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको सूचक चारैतिरबाट नकारात्मक बनेको भन्दै अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम हुनुपर्ने बताए। दोहोरो अंकको ब्याजदर रहेसम्म अर्थतन्त्रले गति नलिने उनले बताए । उनले पञ्चवर्षीय योजनाअनुरुप सरकारको आर्थिक नीति हुनुपर्ने बताए। त्यसो नहुँदा आर्थिक क्षेत्र चलायमान नहुने उनले बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोरले उद्योगी, व्यापारीको मनोबल खस्किरहेको अवस्थामा सिबिफिन तथा एफएनसीसीआई र सिएनआईले समन्वय तथा साझेदारी गरिरहेको बताए । देशमा कानुनी राज स्थापना हुनुपर्ने भन्दै उनले विद्युत् प्राधिकरणसँगको विवादमा प्रमाण देखिएको अवस्थामा बक्यौता भुक्तानी गरिने बताए।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठले सिबिफिन आएपछि बैंकहरुको ‘सुपरग्लू’को काम गरिरहेको आफूले अनुभव गरेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रमा सिबिफिनले सबै व्यावसायिक क्षेत्रलाई जोड्ने काम गरेको बताए ।

यस्तै, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुशील पन्तले नीतिगत तहमा काम गर्ने सवालमा आफूहरु सिबिफिनसँगै रहेको बताए । उनले आन्तरिक उत्पादनलाई प्रवद्र्धन तथा युवालाई देशमा रोक्नका लागि उत्पादक क्षेत्रसँगै रहनेमा आफ्नो प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंकहरुको स्थायित्वको लागि पुँजीवृद्धितर्फ लागिएको तर यसले मात्रै स्थायित्व नहुने बताए । उनले वित्तीय स्थायित्वको लागि बैंकहरुलाई अन्य क्षेत्रमा पनि बलियो बनाउने नीति लिनुपर्ने औँल्याए। बैंकहरु बलिया हुन र लगानीको प्रतिफल पनि प्राप्त गर्नका लागि पुँजीवृद्धिबाहेकका विकल्प खोज्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित : १३ पुष २०८०, शुक्रबार १७:१४