वर्तमान आर्थिक परिदृष्य: चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वर्तमान आर्थिक परिदृष्य: चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट ?



काठमाडौं । मुलुकको आर्थिक अवस्थालाई लिएर नकारात्मक भाष्य मात्रै हावी भएको भन्दै उद्योग संगठन मोरङले आर्थिक सार्वजनिक बहसलाई सकारात्मकतातर्फ मोड्ने प्रयत्नको थालनी गरेको छ । संगठनले वर्तमान आर्थिक परिदृष्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट रु विषयक अर्थ संवादको आयोजना गरि यस्तो प्रयास थालेको हो ।

संवाद कार्यक्रममा संघीय प्रतिनिधि सभाका सांसदहरु दामोदर भण्डारी, माधव सापकोटा, सुमना श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला वक्ताका रुपमा सहभागि थिए ।

कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेको, औद्योगिक क्षेत्र मात्रै होइन समग्र समाज नै नराम्रोसंग प्रभावित भएको उल्लेख गर्दै वर्तमानमा अर्थतन्त्रलाई लिएर सर्वत्र चासो भएको बताए । उनले राजनीतिक मुद्दामा मात्रै चासो, सरोकार र बहस हुने गरेको हाम्रो समाजमा आर्थिक विषयमा बहस र छलफल केन्द्रीत हुनु आफैमा सकारात्मक संकेतको द्योतक भएको बताउँदै यद्यपि अधिकांश यस्ता छलफलहरु नकारात्मक भाष्य निर्माण गर्ने तर्फ उन्मुख रहेकोमा चिन्ता व्यक्त गरे ।

सार्वजनिक बहसहरुमा जिम्मेवार पक्षहरुबीच नै अहिलेको संकट निम्त्याउने कारणका रुपमा एकले अर्कोलाई दोषारोपण गर्ने प्रचलन बढेर जानु, निजी क्षेत्रले राज्य संयन्त्रले प्रभावकारी काम नगरेको एवं नियामक निकाय खास गरि नेपाल राष्ट्र बैंकलाई दोष लगाउने, राष्ट्र बैंकले निजी क्षेत्रलाई घाँटी नहेरी हड्डी निल्न खोज्दा अहिले अड्किएको भनेर दोष लगाउने काम भइरहेको उल्लेख गरे ।

अध्यक्ष सुरानाले वित्तीय क्षेत्रमा भएको नीतिगत अस्थिरताका कारण व्यवसायमा अनुमान गर्न सक्ने वातारण नभएको भन्दै राष्ट्र बैंकले छोटो समयको अन्तरालमा चालू पूँजी कर्जा सम्बन्धी व्यवस्थाको उदाहरण दिए । त्यसैगरी, नीतिगत मात्र नभई सेवा प्रवाहमा समेत जवाफदेहिता नभएको भन्दै राजनीतिज्ञले स्थिर नीति ल्याउने र कर्मचारीतन्त्रले सेवा प्रवाहमा जवाफदेही बन्नु पर्ने जिकिर गरे । सेवा प्रवाहमा देखिएको चरम लापरवाहीको उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटमा जिआई वायरको निर्यात गर्दा कच्चा पदार्थमा लागेको अन्तःशुल्क फिर्ता दिने घोषणा बजेट आएको ६ महिना व्यतित भईसक्दा समेत कार्यविधि आउन नसकेको कस्लाई दोष दिने भन्दै प्रश्न गरे ।

त्यसैगरी, प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेको बिराटनगर आइसिपीसम्मको रेल्वे कार्गो सेवा आजसम्म सुचारु हुन नसकेको भन्दै भारत र नेपालका उद्योग मन्त्रीले रेल उद्घाटन गरेकै दिन हस्ताक्षर गरेको ट्रिटी अफ ट्राञ्जीट सम्झौतामा कलकत्ताबाट बिराटनगरसम्म रेल कार्गोका रुपमा बल्क आइटम मात्रै ल्याउन पाउने प्रावधानका कारण यस क्षेत्रका उद्योगले अन्य वस्तु कार्गो रेल मार्फत ल्याउन नसक्ने गरि सम्झौता किन गरिएको भन्दै यसमा हदैसम्मको लापरबाही भएको बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालको आर्थिक विकासका महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पर्यटन, विद्युत, कृषि, सूचना प्रविधि, सिमेन्ट जस्ता सेवा तथा उत्पादनमूलक उद्योगमा लगानी केन्द्रीत गर्न आग्रह गरे । उनले साना उद्योगमा लगानी गरी निर्यात गर्न चाहने उद्योगलाई वित्तीय संस्थाले सरल रुपमा कर्जा प्रवाहको व्यवस्था गर्नुपर्नेमा जोड दिए । देशको व्यापार घाटा न्यूनिकरणका लागि विलासिताका वस्तु उपभोगमा उपभोक्ता स्वयं सजग भई त्यस्ता वस्तुको आयातलाई निरुत्साहित गर्न अनुरोध गरे ।

डेपुटी गभर्नर मिश्रले बैंकहरुको वेसरेटमा कमी आईरहेकाले आगामी दिन उद्योगी व्यवसायीहरुका लागि थप सहज हुने बताउँदै वित्तीय संस्थाबाट जुन उद्देश्यकालागि कर्जा लिएको हुन्छ सोही क्षेत्रमा लगानी गरी कर्जा लगानीका क्षेत्र परिवर्तन नगर्न उद्योगीलाई आग्रह गरे । उनले उत्पादनमूलक उद्योगमा लगानी गर्नु सुखद पक्ष भएतापनि उक्त क्षेत्रले भोग्नुपरेको विविध चुनौतिमा चिन्ता व्यक्त गर्दै यस क्षेत्रको उत्थानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको औल्याए ।

सांसद सुमना श्रेष्ठले अर्थतन्त्रको सबलीकरणका लागि तथ्यांक र अनुसन्धानका माध्यमबाट अन्तरवस्तु केलाई यस क्षेत्रको विकासमा देखिएका समस्यालाई नीतिगत, कार्यगत सुधार गर्दै स्वदेशी उद्योगको प्रतिष्पर्धी क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले निजी क्षेत्रका हक हितका लागि स्थापित संघ संस्थाले स्वतन्त्र रुपमा अध्ययन अनुसन्धान गरी अर्थतन्त्रको वास्तविक अवस्था चित्रण गरी नीति निर्मातालाई झकझकाउनु पर्ने धारणा राखिन् ।

अहिलेका कतिपय नीति, नियम असान्दर्भिक हुँदै गएको तर्फ ईगित गर्दै उनले समय सापेक्ष नीतिमा सुधार गर्नुपर्ने, देशको अवस्थालाई मध्यनजर गरी नीति बनाई कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । देशमा व्याप्त भ्रष्टचार न्यूनिकरणका लागि नियमनकारी निकायलाई वलियो वनाउन आवश्यक रहेको र त्यसका लागि दलिय भागवण्डालाई भन्दापनि योग्यतालाई आधार मानिनु पर्ने बताइन् ।

सांसद माधव सापकोटाले अर्थतन्त्रका सूचकहरु सकारात्मकतर्फ अघि बढेतापनि राज्यको ढुकुटीबाट जुन प्रकारले लगानी हुनुपर्ने हो वर्तमान समयमा त्यो अनुरुप हुन नसक्नुको कारण जान्न सरकारले तत्परताको आवश्यकता रहेको औंल्याए । वर्तमान समय पैसा हातमा राखेर बस्नुभन्दा पनि त्यसलाई लगानी गरेर मुनाफा गर्ने वातावरण बनाउन सबैपक्ष उत्तिकै जिम्मेवार रहेको बताउँदै अर्थतन्त्र र आर्थिक विकासका लगि सबैलाई निरन्तर खबरदारी गर्न अनुरोध गरे । अहिले अर्थतन्त्र दवावमा भएतापनि सबै सकियो भन्ने अवस्था नभएको भन्दै राम्रोलाई पुरस्कृत र खराबलाई सजायको व्यवस्था गर्नु राज्यको दायित्व भएको बताउँदै सरकारी ढुकुटीमा रहेको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा चलायमान बनाउन सबैको सहयोगका लागि आग्रह गरे ।

सांसद दामोदर भण्डारीले आर्थिक विकास विना समृद्ध मुलुक निर्माण नहुने तर्क राख्दै सरकारलाई जिम्मेवार भएर अघि बढ्न सुझाव दिए । उनले हरेक क्षेत्रमा व्याप्त निराशाको अन्त्य गर्न सरकारको प्रमुख दायित्व भएकाले यसतर्फ सरकारको गम्भिरताको आवश्यकता औंल्याए । देशमा व्याप्त बेथितिको अन्त्यका लागि पूर्वाग्रहरहीत भएर सबैलाई एकसाथ लिएर अघि बढ्न ढिलो गर्न नहुने धारणा उनले राखे ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयस प्याकुरेलले निजी क्षेत्र लामो समयदेखि समस्यै समस्याको भूमरीमा फसेको र सरकार परिवर्तन भएपश्चात समस्या समाधानका लागि आग्रह गर्दै आएतापनि उल्लेख्य सुधार नआएको बताए । उनले यहि अवस्था जारी रहे उद्योग मात्र होईन आगामी दिनमा उद्यमशीलता नै पलायन हुने चिन्ता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उद्योग व्यवसायको प्रवर्द्धन गर्नु मन्त्रालयको दायित्व भएकाले यस क्षेत्रको समस्यालाई क्रमशः समाधान गरिँदै लैजाने आश्वासन दिए । उनले लगानीमैत्री वातावरण निर्माण गर्नु मन्त्रालय र मातहतका निकायको प्रमुख जिम्मेवारी भएको बताउँदै हताश एव निराश नहुन उद्योगीलाई आग्रह गरे ।

प्रकाशित : १ पुष २०८०, आईतवार १६:१८