एनआरएनए निर्वाचनमा धाँधली भएको ठहर, पुनः निर्वाचन गराउन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएनए निर्वाचनमा धाँधली भएको ठहर, पुनः निर्वाचन गराउन माग



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघको ११ औं महाधिवेशनमा गत महिना गराइएको निर्वाचनमा व्यापक धाँधली गरिएका स्पष्ट प्रमाणहरु प्राप्त भएको भन्दै उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन माग गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन लाई सम्बोधन गर्दै संघका अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले गत १९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु पाइएपछि काठमाडौंस्थित सोल्टी होटेलमा २० अक्टोबर २०२३ मा तत्कालिन तीन जना अध्यक्षहरु कुल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुइ साताभित्र छानबिन गर्ने सहमति भएको बताए ।

उनले विज्ञप्तीमार्फत भने, ‘तर, उक्त सहमतिलाई कागजको खोस्टा बनाइ रातारात सपथ लिने र आफैलाई अध्यक्ष घोषणा गर्ने काम संघको विधान र स्वतन्त्र तथा निस्पक्ष निर्वाचनको विश्वव्यापी मान्यता प्रतिकूल रहेकाले त्यस्तो कार्य प्रति हाम्रो घोर आपत्ति छ । साथै संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको पनि हामी स्पष्ट पार्दछौं ।

२. गत १९ अक्टोबर २०२३ मा अनलाइन माध्यमबाट गराइएको निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न कथित अन्तरराष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद छ। जसको बारेमा गम्भीर आरोप लगाइएको छ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ “नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने “ जस्तो सर्त सहितको छानविन समिति बनाउने भन्ने प्रस्तावलाई हामी सरासर खारेज गर्दछौं।

३. ११ औं महाधिवेशनका लागि प्रतिनिधि चयनमै योजनाबद्धरुपमा अनियमितता गरिएको कुरा पनि हामीले उठाउंदै आएका छौं। एनसिसि रसिया, एनसिसि किर्गिस्थान, दक्षिण अफ्रीका र नाइजेरियामा विधान विपरित प्रतिनिधि चयन गरिएको थाहा भएको छ । त्यस्तै संघको विधान तथा प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावली अनुसार ३१ अगष्ट, २०२३ अगावै प्रतिनिधिको नामावली सम्वन्धित एनसिसि अध्यक्ष र महासचिवको हस्ताक्षरसहित केन्द्रमा पठाउनु पर्ने स्पष्ट व्यवस्था गरिएता पनि एनसीसी कोरिया, एनसीसी युएई, एनसीसी अस्ट्रेलिया, एनसीसी माल्टा, एनसीसी युकेका प्रतिनिधिहरूलाई नियतवस अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगष्ट, २०२३ पछि आफू अनुकुल पठाउन लगाइएको थाहा हुनआएको छ । संघको सदस्यता वितरण, प्रतिनिधि छनोट तथा निर्वाचन लगायतका विषयमा विवाद आएमा समाधान गर्न न्यायिक आयोग मार्फत गरिनु पर्नेमा विधान विपरितको संरचनाले विवाद समाधान गर्न खोजिएको थियो । त्यस्तै तत्कालिन कार्यकारी अध्यक्ष बद्री केसीले आफ्नो अधिकारको दुरुपयोग गरी आफू अनुकूल प्रतिनिधी चयन नभएसम्म एनसिसि युएइ, कोरिया, माल्टा, युके, अस्ट्रेलियाका प्रतिनिधिलाई अस्वीकार गर्नु का साथै एनसिसि युएइमा ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि वनाए पछि मात्र एनसिसि युएइका प्रतिनिधिहरूलाई स्वीकार गरिएको साथै विधान र नियमावलीले दिएको मिति भन्दा तीन दिन पछि एनसीसी जर्मनीको कार्यसमिति गठन गरिएको पनि थाहा हुन आएको छ ।

अनलाइन निर्वाचनमा भएका गम्भीर त्रुटीहरुका केही उदाहरण यस प्रकार छन् :

(क) उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालवाट खसेको मत शुन्य भएको। यस समवन्धमा पहिलो स्पष्टिकरणमा ग्लोवल र लोकल मत पत्रमा नाम फरक भएको भनिएता पनि पछि मत पत्र चेक गर्दा नाममा फरक नभएको देखिएको।तर पछिको स्पष्टिकरणमा System Back end मा integration mistake भएको भनिएको। यो स्पष्टिकरणले सिस्टम प्रति नै झन गम्भीर आशंका पैदा गरेकोछ र Back end integration मा अन्य नामहरुमा पनि गल्ति भएको हुन सक्ने।

(ख) सिस्टमको फिचर अनुसार सवै पदाधिकारीको मत संख्या अनिवार्य वरावर हुनु पर्नेमा फरक फरक भएको।

(ग)नेपालमा आउने प्रतिनिधिहरु अनिवार्य काठमाण्डौको सोल्टीहोटलको वुथवाट मतदान गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएकैले नेपालवाट खसेको मत र सोल्टी होटलवाट खसेको मत समान हुनु पर्नेमा फरक भएको।

(घ) विधानको दफा २१स्७ अनुसार अन्तराष्ट्रिय महाधिवेसन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भए पछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि निमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको। अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९५ वाट घटाएर ६५५ वनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको।फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशत भन्दा कम गरिनु भेस भेरिफिकेसनको अन्तराष्ट्रिय मापदण्ड विपरित भएको र निर्वाचनको वीचमै यसरी निर्वाचनको प्रकृया परिवर्तन गरिनु निर्वाचन निमावलीको पनि उल्लंघन भएको।

(ङ) साेल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको ग्कभच क्ष्म् र एबककधयचम निर्नाचनमा खटिएका कर्मचारीवाट पुनस् फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुन सकने आशंका।

(च) नेपालमा आइसकेका केही प्रतिनिधिहरुको नामवाट विदेशवाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनियतामा गम्भीर आशंका पैदा गरेको।

(छ)निर्वाचनमा नेपालको समय राती १२ वजे सम्म “जुम “ माध्यमवाट पनि मतदान गर्ने व्यवस्था गरिएता पनि १२ वजे अगावै “जुम “ भित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानवाट वञ्चित गरिएको। कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ वजे सम्म आफ्ना प्रतिनिधिलाई “जुम” मार्फत मतदान गर्न लगाई “जुम “ भित्र पसिसकेका वांकी ५४ जना प्रतिनिधिलाई मतदानवाट वंचित गराइनु निर्वाचन नियमावली र निर्वाचन सम्वन्धी विश्वव्यापी मान्यता र परम्परा विपरित छ।

४. अनलाइन प्रणालीबाट गराइएको निर्वाचनको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले गरेको अनुसन्धानको रिपोर्ट हामीले आधिकारिक रुपमा पाएका छैनौं। तर संचारमाध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार निर्वाचन स्वच्छ तरिकाले हुन नसकेको थुप्रै प्रमाणहरु छन्। गैरआवासीय नेपाली संघमा एकपक्षीय ढंगले निवर्तमान अध्यक्ष बद्री केसी समूहले सपथ खाएपछि विधान अनुसार हामीहरुले होटल हिमालयमा साधारणसभा सम्पन्न गरेर राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा कार्यसमिति गठन गरेको जानकारी गराउन चाहन्छौं । बद्री केसी समूहको हठ र संस्था कब्जा गर्ने नियतले १० औं महाधिवेशनबाट केही साथीहरु बाहिरिएर श्री बिनोद कुँवर नेतृत्वको कार्यसमिति गठन गरिएको थियो । एकताको लागि पहल गर्दा केसी समूहको कारण नै एकीकरण हुन नसकेको कुरा समेत जानकारी गराउन चाहन्छौं ।

५. १९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु सहित हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थियौं। तर अहिले पांच हप्ता बिती सक्दा पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन। प्रहरीको अनुसन्धानबारे पनि हामीलाई केही बताइएको छैन। त्यसैले संसारभरि रहेका लाखौं गैर आवासीय नेपालीहरुको भावनासंग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूह विरुद्ध कडा कारवाही गर्न माग गर्दछौं। त्यस्तै महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गर्ने काम मान्य छैन। त्यस्तो काम तुरुन्त बन्द गर्न पनि हामी माग गर्दछौं।

६. नेपालीहरुको सुखदुखमा गैरआवासीय नेपाली संघ जहिले पनि साथै रहँदै आएको छ। गत ३ नोभेम्वरमा आएको भूकम्पमा परी जाजरकोट तथा रुकुम पश्चिममा जनधनको क्षति भएको खबरबाट संसार भरिका नेपालीहरु दुखी भए। हामीले संगठनको आन्तरिक विवादलाई थाती राखेर, कार्य समितिका साथीहरुले स्वेच्छिक रुपमा सहयोग संकलन गरी भूकम्प प्रभावित क्षेत्र पुगेर राहत वितरण गर्यौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा नेतृत्वको टोली गत राहत तथा उद्धारको लागि कार्तिक २० गते भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको थियो । उक्त टोलीले भूकम्प प्रभावित समुदायलाई पहिलो चरणमा २ हजार थान कम्बल,५ सय थान त्रिपाल,४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरेको थियो । भूकम्पबाट अति प्रभावित बारेकोट गाउँपालिकाको रामिडाँडामा टोलीले उपलब्ध गराएको राहत सामग्री सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट वितरण भएको थियो । यस अघि अध्यक्ष शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गर्नु भएको छ ।

७. अन्त्यमा, संघमा सत्य र न्यायको पक्षमा हाम्रो आवाजलाई स्थान दिनु हुने सबै संचारकर्मी मित्रहरुप्रति हामी हार्दिक आभार व्यक्त गर्द छौं। साथै, संसारभरि रहनु भएका सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई संघलाई सबैको साझा र पारदर्शी बनाउन तथा अखण्ड एनआरएनएको पक्षमा उभिदिनु हुन पनि अपिल गर्दछौं।

प्रकाशित : १२ मंसिर २०८०, मंगलवार १५:१३