एक बर्ष बित्दा पनि माग सम्बोधन नभएको व्यवसायीहरुकाे गुनासाे, पुनः सटर बन्द गरेर आन्दोलन गर्ने चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक बर्ष बित्दा पनि माग सम्बोधन नभएको व्यवसायीहरुकाे गुनासाे, पुनः सटर बन्द गरेर आन्दोलन गर्ने चेतावनी



काठमाडौं । एक बर्ष बितिसक्दा पनि सरकारले आफुहरुको माग सम्बोधन गर्न नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । शुक्रबार तिहार तथा छट पर्वको अवसरमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन ।

गत वर्ष बैंकको ब्याजदर सिङ्गल डिजिटमा आउनु पर्ने लगाएतका माग राखेर व्यवसायीहरुले सडक आन्दोलन गरेका थिए । तर उक्त माग अहिलेसम्म सम्बोधन नभएको उनिहरुको आरोप छ । सरकारले एक हात उद्योगी व्यवसायीहरुको माग मात्रै सम्बोधन गर्ने तर, अर्थतन्त्र चलायमान बनाउन योगदान गर्ने व्यवसायीहरुलाई प्राथमिकता नदिएको उनिहरुको आरोप छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको ब्याजदर उच्च हुँदा व्यवसायीहरु मर्कामा परेको बताए । बैंकको ब्याजदर सिङ्गल डिजिटमा ल्याउनु पर्ने भए पनि अहिलेसम्म १४ प्रतिशत भन्दा कम हुन सकेको छैन उनको भनाई थियो ।

सरकारले बैंकको ब्याजदर कम गर्ने भने पनि एक वर्षसम्म कम गर्न नसक्दा व्यवसायीहरु बैंकको ब्याज र किस्ता तिर्न नसक्दा व्यवसायको सटर बन्द गरेर वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको कार्कीले बताए । उनले सरकारले व्यवसायीहरुका भन्सारका समस्या र बैंकको ब्याजदर घटाउने काम नगरे व्यवसायीहरु पुनः सटर बन्द गरेर सडक आन्दोलन गर्न बाध्य हुने बताए ।

उनले व्यापार व्यवसायमा आएको मन्दिको कारण अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउनको लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए । उनले व्यवसायीहरु व्यवसाय गर्ने वातावरण नभएको अवस्थामा व्यवसायीहरु एक जुट भएर सरकारलाई दबाब दिन आवश्यक रहेको बताए ।

त्यस्तै, कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले पनि बैंकको ब्याजदर कम गर्न विगत एक वर्षदेखि माग गर्दै आएपनि अहिलेसम्म सरकारले माग पुरा गर्न नसकेको बताए । अर्थतन्त्रमा परेको असर उद्योगी व्यवसायीहरुमा समेत देखिकाले व्यापार व्यवसायबाट बैंकको किस्ता र ब्याज तिर्न नसक्दा आत्माहत्या गर्ने देखि व्यवसायबाट पलायन हुने अवस्था रहेको बताए ।

उनले वास्तविक अर्थतन्त्र चलायमान बनाउने व्यवसायीहरुको पक्षमा काम गर्न नसकेको बताउदै सरकारले विमानस्थलबाट दैनिक हजारौं युवाहरु विदेश जाने क्रम रोक्न आवश्यक रहेको बताए । उक्त चियापान कार्यक्रममा महासंघका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार १८:१०