नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह



बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन्। संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लन्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन्।

उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गरे।

यसैगरी मन्त्री महतले बेलायतका तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न अनुरोध गरे।

ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए। उनले ग्रीन फाइनान्स क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए। भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपपमुख रोशन खनालको पनि सहभागिता थियो।

लन्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लन्डन आएका मन्त्री महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय उर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तर्क्रियामा सहभागी भएका थिए। त्यस क्रममा उनले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गरिने उल्लेख गर्दै वैदेशिक लगानीकर्ताले लाभाशं फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिए।

महतले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङको प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिए।डोल्मा फाउन्डेसनका टिम गोचर र जापनिज बैंक एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डका बारेमा आफ्नो धारणा राखेका थिए।

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो।माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राखेका थिए। राजदूत आचार्यले लगानीका लागि नेपाल उर्बरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १२:५८