गत वर्षको नाफाबाट ४१ कम्पनीले घोषणा गरे लाभांश, कुन–कुनले कति गरे प्रस्ताव ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गत वर्षको नाफाबाट ४१ कम्पनीले घोषणा गरे लाभांश, कुन–कुनले कति गरे प्रस्ताव ?



काठमाडौं । दशैं अगाडीदेखि नै विभिन्न कम्पनीहरुले लाभांश वितरण गर्न सुरु गरिसकेका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गर्ने अधिकांश कम्पनी म्युचुअल फन्ड छन् । अहिलेसम्म एउटा लगानी समूह र नेप्सेमा सूचिकृत ६ वटा बाणिज्य बैंक, ४ वटा लघुवित्त, २ वटा विकास बैंक, एउटा होटल, एउटा जलविद्युत कम्पनी, एउटा उत्पादन तथा प्रशाेधन कम्पनी र बाँकी म्युचुअल फन्डसहित ४१ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई १५८० रुपैयाँ नगद लाभांश दिने भएको हो ।

६ वाणिज्य बैंकको लाभांश

आर्थिक वर्ष २०७९/८० को लागि मुनाफाबाट हालसम्म सबै भन्दा धेरै लाभांश घोषणा गर्ने बैंक एनआईसी एशिया बैंक भएको छ। एनआईसीले आफ्नो चुक्ता पूँजीको कूल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, एभरेष्ट बैंकले आफ्नो चुक्ता पूँजीको कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

अर्को सानिमा बैंकले आफ्नो चुक्ता पूँजीको कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनस र ५.७ प्रतिशत नगद रहेको छ ।

माछापुच्छ्रे बैंकले पनि लाभांश घोषणा गर्दै हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंक सिटिजन्स बैंकले सेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकले कुल ४.२१ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको थियो।

विकास बैंक

हालसम्म सांग्रिला डेभलपमेन्ट बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश बाँड्ने प्रस्ताव गरेका छन् । जसमा सांग्रिला डेभलपमेन्ट बैंकले गतबर्षको नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, साइन रेसुंगा डेभलपमेन्ट बैंकले भने १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगदसहित ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मर्चेन्ट बैंक

सनराइज क्यापिटल, एनआईसी एशिया क्यापिटल, सिटिजन्स क्यापिटल, प्रभु क्यापिटल, कुमारी क्यापिटल र आरविवि मर्चेन्ट बैंकिङ्गले पनि गत वर्षको नाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेका हुन् ।

एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत अर्थात् ९ करोड २० लाख रुपैयाँ, सिटिजन्स क्यापिटलले १२ प्रतिशत अर्थात् २ करोड ४० लाख रुपैयाँ , कुमारी क्यापिटलले १५ प्रतिशत अर्थात् ६ करोड रूपैयाँ, प्रभु क्यापिटलले ६.३१५८ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले १३.१६ प्रतिशत, सनराइज क्यापिटलले ३० प्रतिशत लाभांश घोषणा गरेको हुन् ।

माइक्रोफाइनान्स

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद, आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगदसहित ९.०५, युनिक नेपाल लघुवित्तले बोनस १९ र कर प्रयोजनका लागि १ प्रतिशत नगदसहित २० प्रतिशत तथा स्वाबलम्बन लघुवित्तले १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगदसहित १३.०१ प्रतिशत लाभांश दिने भएको छ ।

जलविद्युत कम्पनी

सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगदसहित १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

म्युचुअल फन्ड

सनराइज फस्ट म्युचुअल फन्डले १६ प्रतिशत नगद लाभांश् दिने घोषणा गरेको छ । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले ६.५, सिद्धार्थ इक्विटी फन्डले ५, सिटिजन्स म्युचुअल फन्ड-२ ले ८, एनएमबि हाइब्रिड फन्ड एल-१ ले १५, ग्लोबल आइएमई ब्यालेन्स फन्ड-१ ले ५, सानिमा इक्विटी फन्डले १८ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

यस्तै एनएमबि-५० ले १५, प्रभु सेलेक्ट फन्डले ९.५ प्रतिशत, एनआईसी एसिया डाइनामिक डेप्थ फन्डले १०, एनआईसी एसिया ग्रोथ फन्डले १०.५, एनआईसी एसिया ब्यालेन्स फन्डले १०, एनआईबिएल सहभागी फन्डले ४ र एनआईबिएल प्रगति फन्डले ६.८ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन् ।

नबिल ब्यालेन्स फन्ड-२ ले ९.६, कुमारी धनवृद्धि योजनाले ६, लक्ष्मी उन्नती कोषले ९.५, लक्ष्मी इक्विटी फन्डले ८ र कुमारी इक्विटी फन्डले १० प्रतिशत प्रतिफल दिने भएका छन् ।

होटल तथा पर्यटन
ओरियन्टल होटलले गत बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार १४:३८