मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?



काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार साँझ ५ बजे बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न गरेको थियो। जसअनुसार १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको थियो।

यो आईपीओमा कुल १३ लाख ८१ हजार ५७५ आवेदकबाट १ करोड ५४ लाख २९ हजार ६०० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख ८६ हजार ३८० आवेदकबाट माग भएको १ करोड ४० लाख ५६ हजार २१० कित्ता सेयरमात्रै प्रमाणीकरण भएको छ।

प्रमाणीकरण भएकामध्ये कुल १२ लाख ८२ हजार ८१९ आवेदकबाट माग भएको १ करोड ४० लाख ५ हजार ३१० कित्ता सेयरमात्रै सदर भएको छ भने ३ हजार ५६१ आवदेकबाट माग भएको ५० हजार ९०० कित्ता बदर भएको छ। यो आईपीओ मागभन्दा २२.५५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यो हिसाबले यस आईपीओमा सदर आवेदकमध्ये १२ लाख २० हजार ७०२ आवेदकबाट हात खाली भएको छ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया र आईपीओ निष्कासन गर्ने कम्पनी मिड सोलु हाइड्रोपावरको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार १७:३४